देश/प्रदेश

बागमती प्रदेश : तत्काल सरकार नछाड्ने पक्षमा एमालेका अर्थमन्त्री जेएन थपलिया

Banner

चितवन, फागुन १६–

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट पनि बाहिरिसकेको छ । एमालेबाट संघीय मन्त्री बनेका नेताहरुले राजिनामा बुझाइसकेका छन् । यता बागमती प्रदेशमा भने एमालेका मन्त्रीहरु बीच दुई धार देखिएको छ । बागमतीमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन् ।

जम्कट्टेलको नेतृत्वमा प्रदेश सरकारमा सहभागी भई आर्थिक मामिला तथा योजना मन्त्री बनेका चितवनका एमाले नेता जगन्नाथ थपलिया भने तत्काल छाड्ने पक्षमा छैनन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेका थपलियाले तत्काल प्रदेश सरकारबाट बाहिरिने कुनै निर्णय नभएको बताए ।

उनले केन्द्रीय राजनीतिको कोर्स परिवर्तन भएसँगै सङ्घीय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारबाट भने तत्काल नबाहिरिने बताए । केन्द्रीय सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिए पनि प्रदेशमा तत्काल सरकार छोडी हाल्ने निर्णय नभएको उनको भनाइ छ । केन्द्र र प्रदेशको परिस्थिति फरक भएकाले सरकार छाडने विषयमा निर्णय नभएको उनको भनाइ छ ।

‘केन्द्र र प्रदेशको कुरा फरक छ । केन्द्रमा सत्ता समीकरण परिवर्तन हुँदैमा प्रदेशमा पनि हुनुपर्छ भन्ने छैन । हामीले तत्काल प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेका छैनौ र छोड्दैनौँ ।’ उनले भने, ‘अर्को कुनै घटना नभएसम्म सरकार छोड्ने कुनै मनस्थितिमा छैन । सरकारबाट बाहिरिने विषयमा पार्टीको प्रदेश समितिले नै निर्णय गर्नेछ । पछिल्लो समय बदलिएको राजनीतिको बारेमा पार्टी भित्र छलफल भने भइरहेको छ ।’

नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा श्रम, यातायात तथा रोजगार मन्त्री रहेका एकालाल श्रेष्ठले तत्काल सरकार छाड्नु पर्ने बताउँछन् । उनले केन्द्रको निर्देशन अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले पदबाट राजीनामा दिनु पर्ने बताएका हुन् ।

‘हामीले सरकारमा बस्नु पर्ने परिस्थिति सकिएको छ । हामीले अब सरकार छाड्नु पर्छ ।’ उनले भने, ‘केन्द्र कै अनुसार प्रदेशमा पनि पार्टीले सरकार छोड्न सक्छौ । केन्द्रको निर्देशनको पर्खाइमा हरेका छौ । हामी कुनै पनि समयमा मन्त्रीबाट राजीनामा दिन सक्छौ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>