Breaking News

चितवनमा खाद्य पदार्थको अनुगमनमा तीव्रता, र्‍यापिड रेस्पोन्स टिम परिचालन

Banner

निरुता विक

चितवन, फागुन १५–

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले खाद्य पदार्थको अनुगमनलाई तीव्रता दिएको छ ।

कार्यालयका प्रमुख घननाथ अधिकारीका अनुसार बजार अनुगमनमा सामान्य गल्ती देखिएमा सचेत गराउने र गम्भीर त्रुटी गरेको पाइएमा कारबाही गर्न अनुगमनलाई तीव्रता दिइएको हो ।

कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७८\०७९ मा १६ वटा मुद्दा फैसला भएका छन् । उनले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए । जसअन्र्तगत अनुसन्धानपछि अन्य निकायमा पठाइएको मुद्दा सात रहेका छन् । उपभोग्य मिति समाप्त भएका तथा अन्य कारणले सात खाद्य वस्तु नष्ट गरिएका अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।
चालू आर्थिक वर्ष २०७९\०८० को पुस महिनासम्ममा दाना उद्योगमा ८ पटक अनुगमन, बजारका दाना बिक्री वितरण पसलमा १२ पटक, होटल तथा रेष्टुरेन्टमा २४ पटक अनुगमन, खाद्य उद्योग अनुगमन १६ पटक, खाद्यबजार अनुगमन २५ पटक, सडकमा राखिने खाद्यान्नको दुई पटक अनुगमन गरिएको उनको भनाइ छ । त्यसमध्ये ५० वटा खाद्य पदार्थहरुको नमूना संकलन गरिएको छ । जसमा परीक्षणका क्रममा ३० वटा नमूना प्राप्त भएकामध्ये दुई वटा प्रतिकुल देखिएकाले कारबाही गरिएको छ । अन्य अनुसन्धान कै क्रममा रहेको जनाइएको छ ।

बजारबाट संकलन गरिएको नमूना हेटौँडा अथवा काठमाडौँको प्रयोगशालामा परीक्षणको लागि पठाइने अधिकारीले बताए । बजारमा तत्कालै गुनासो सुन्न तयार पारिएको समूह ‘र्‍यापिड रेस्पोन्स टिम’ बाट पछिल्लो ६ महिनामा आठ पटक बजार अनुगमन गरिएको अधिकारीको भनाइ छ । तत्कालै गुनासो सुन्न तयार पारिएको समूह र्‍यापिड रेस्पोन्स टिममा दुई वटा उजुरी परेकोमा बजारमा भेटिएको एउटा कम्पनीको मह र चियामा न्यून गुणस्तर पाइएको जनाइएको छ ।

ती कम्पनीहरु दुवै काठमाडौँको भएकोले प्रारम्भिक अनुसन्धानपछि मुद्दा दर्ताको लागि काठमाडौँ पठाइएको प्रमुख अधिकारीले बताए । काठमाडौँमा मुद्दा दर्ता गरेपछि मात्र ती कम्पनीको मह र चियाको नाम सार्वजनिक गर्ने प्रमुख अधिकारीको भनाइ रहेको छ । उनले भने, ‘गतवर्षको तुलनामा यस वर्ष उजुरी कम भएको छ ।’ अहिले बजारमा न्यून गुणस्तर खाद्य पदार्थ कमै पाइएको उनको भनाइ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>