Breaking News

चितवनको रत्ननगरमा चैत १० गतेबाट रोजगार मेला हुने, युवाले स्वदेशमा रोजगारी पाउने आशा

Banner

चितवन, फागुन १४-

चितवनमा दोस्रो रोजगार मेला–२०७९ रत्ननगरमा हुने भएको छ ।

आज आइतबार रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको अध्यक्षतामा बसेको रोजगार मेला मूल समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी चैत १० देखि १२ गतेसम्म रत्ननगरको निपनी चोकमा रहेको होटल स्टार बैङ्क्वेटमा तीन दिनसम्म चल्ने मेलालाई वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाको नाम दिइएको छ । अघिल्लो वर्ष भरतपुर महानगरपालिकाले पहिलो पटक रोजगार मेलाको आयोजना गरेको थियोे । आलोपालो रुपमा रोजगार मेला गर्ने गरी भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच यस अघि नै भ्रद सहमति भए अनुरुप यसपटक रत्ननगर नगरपालिकाले मेला गर्ने भएको हो ।

बैठकमा रत्ननगरमा मेयर प्रल्हाद सापकोटा, भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारी, रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी बद्रीनारायण शर्मा, भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेल, रत्ननगर नगरपालिकाका विज्ञ सल्लाहकार रामहरि न्यौपानेलगायतको उपस्तिथि रहेको थियो । जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले रत्ननगरमा रोजगार मेला हुने भएको हो । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको मेलामा स्टल राख्न र प्रवेश निःशुल्क गरिने भएको छ ।

रोजगारीको शिलशिलामा भौतारिएका युवाहरुलाइ लक्षित गरिएको र कामदारको अभाव झेलिरहेका व्यवसायीहरुलाई एकैठाउँमा भेटाउने मूल उद्देश्य अनुरुप मेलाको आयोजना गरिएको रत्ननगर नगरपालिकाले जनाएको छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । भरतपुर महानगरपालिकाका अनुसार नीति तथा कार्यक्रममा समावेश गरेको ‘रोजगार बैँक’ को अवधारणाअन्तर्गतको कार्यक्रमका रूपमा रोजगार मेला सञ्चालन गर्न सुरु गरिएको हो ।

मेलामा कुनै किसिमको आर्थिक कारोबार नहुने रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीले बताए । मेलामा दुवै पालिकाका सम्पूर्ण सघ संघसंस्थाले पनि सहयोग गर्ने भएका छन् । बागमती प्रदेशका १० पालिका मध्ये भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा यो कार्यक्रम सञ्चालित छ । चितवन जिल्लामा अरु पालिकाहरुले यो कार्यक्रम गर्न सकेका छैनन् । अघिल्लो वर्ष भरतपुर महानगरमा भएको मेलामा १७ जनाले रोजगारी पाएको महानगरले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>