राजनीति
लघुवित्तका कारण कयौँ गरिब नागरिक माथि उठ्न नसक्ने गरी थला परेका छन्ः सांसद गगनकुमार थापा

काठमाण्डौ फागुन १०-
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले खराब नियतले काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गर्नुभएको छ ।
आज (बुधवार) प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गर्नुभयो । उहाँले लघुवित्तका कारण मर्कामा परेकाहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताउनुभयो । उहाँले लघुवित्तका कारण कयौँ गरिब नागरिक माथि उठ्न नसक्ने गरी थला परेका टिप्पणी गर्नुभयो ।
सांसद थापाले लघुवित्त संस्थाहरूले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको बताउनुभयो । उहाँले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजानसमेत माग गर्नुभयो ।



























