Breaking News

कोरोनाको बाईभ्यालेन्ट दोस्रो बुस्टर खोप चितवन आउन समय लाग्ने, स्थानीय तहलाई परिपत्र

Banner

मधुसूदन दवाडी

चितवन, फागुन ८-

कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) चितवन आउन समय लाग्ने भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आवश्यक लक्षित वर्गको संख्या निर्धारण गर्ने प्रक्रियामा रहेकोले खोप आउन समय लाग्ने भएको हो ।
सोमबार बिहान तीन लाख ४५ हजार छ सय मात्रा खोप नेपाल आएको हो । बुस्टर डोजका लागि यसअघि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाइँले चितवनमा कति खोप चाहिन्छ भनेर स्थानीय तहलाई परिपत्र गरिएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘कति संख्यामा चाहिन्छ भन्ने तथ्यांक स्थानीय तहबाट आइसकेपछि अनुमान गरेर मन्त्रालयबाट खोप माग्छौं । धेरै माग्दा पनि खोप बिग्रने समस्या रहन्छ । ७० दिनभन्दा खोप जोगाउन नसक्ने भएकोले जति चाहिन्छ त्यतीमात्र मगाउँछौं ।’

यो खोप लगाउने लक्षित वर्गमा ५५ वर्ष माथिका व्यक्ति, स्वास्थ्यकर्मीहरु दीर्घरोगीहरु, गर्भवतीहरु रहेका छन् । कोरोना भाइरस परिवर्तन हुँदै गएसँगै दोस्रो बुस्टर डोजको रुपमा यो खोपको विकास भएको हो । यसले नयाँ ओमिक्रोनको भाइरसलाई पनि रोक्ने स्वास्थ्य कार्यालय प्रमुख चापागाइँले बताए । उनले भने, ‘ चितवनमा यो खोप लगाउनको लागि पहिलो बुस्टर लगाएको छ महिनापछिको अवस्थामा, बुस्टर डोज नलगाएकाहरुको लागि, चिनीयाँ भेरोसेल खोप बाहेक अन्य जुनकुनै खोप लगाएकाहरुलाई प्रयोग गर्न सकिनेछ ।’

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट आज सोमबार बिहान आएको स्वास्थ्य सेवा विभाग काठमाडौँले जनाएको छ । यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले नै खोप आएको थियो।

गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ। नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ । बाँकी खोप फागुन ११ र १५ गते पनि ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले स्वास्थ्य कार्यालयले यो नयाँ खोपबारे स्वास्थ्य अधिकृतहरुलाई अनलाइनबाट अभिमुखीकरण गरिसकेको जानकारी दिइन् । उनले चितवनका स्थानीय तहले कति माग गर्छन् सोको आधारमा खोप मागेपछि मात्र चितवन खोप आइपुग्ने बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>