चितवन विशेष

टेलिकमको नेटवर्क पटक–पटक अवरुद्ध हुँदा सेवाग्राही समस्यामा

Banner

पुजा ढकाल
चितवन, फागुन ६–

पछिल्लो समय नेपाल टेलिकमको नेटवर्क पटक–पटक अवरुद्ध हुने गरेको छ । टेलिफोन सेवाका २ करोड १६ लाख ग्राहक बनाएको सरकारी स्वामित्वको टेलिकमको नेटवर्क पटक–पटक अवरुद्ध हुँदा चितवनका सेवाग्राहिलेसमस्या भोग्नु परेको हो । टेलिकमको सेवामा बुधबार पनि दिनभर र बिहिबार बिहान समस्या आएको थियो ।

नेपाल टेलिकम सरकारी स्वामित्वकोे सिम भएकोले आफूले पनि टेलिकमकै सिम प्रयोग गर्ने गरेको बागमती प्रदेशका उपाध्यक्ष ज्ञानजंग लामा बताउँछन् । लामा भन्छन्, ‘दैनिक सूचना सँग जोडिनुपर्ने र स्थानीय माझ सूचना प्रवाह गर्नुपर्ने भएकोले अन्यको तुलनामा हामीलाई दैनिक मोबाइल डाटाको बढी आवश्यक पर्ने गर्छ । तर, पछिल्लो समय पटक–पटक नेटवर्कमा समस्या आउदा हामीलाई सूचना प्रवाह गर्न निकै कठिन भएको छ ।’

कहिलेकाँही दिनभर फोन नलाग्दा र म्यासेज पनि ‘सेन्ड’ नहुँदा सूचना प्रभाव गर्न मान्छे नै खटाउनु परेको उनको गुनासो छ । यस्तै बाहिरी जिल्लाको व्यक्तिलाई सूचना प्रवाह गर्न फोन, मेसेज तथा ईमेल नै गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘सबै ठाँउमा इन्टरनेटको सुविधा नहुने भएकोले डाटा चलाउनु पर्ने हुन्छ । तर, नेटवर्क नै नचलेपछि हामीले कसरी प्रवाह गर्ने सूचना ?’

हरेक वर्ष पुराना प्रविधिका कारण नेटवर्कमा पटक–पटक समस्या आएकोले यसको समाधान गर्न टेलिकमले नयाँ तथा स्मार्ट प्रविधिको मेसिनरी सामान जडान गर्नुपर्ने उनको भनाइ छ ।

लामो समयदेखी मार्केटिङ गर्दै आएकी उषा क्षेष्ठले फिल्डमा जाँदा फोन गरेर जानुपर्ने भएपनि नेटवर्क अवरुद्ध भएर फोन नलाग्दा र फिल्डमा सूचना नगरी जाँदा मान्छे नभेटिने गरेको बताउँछिन् । यसरी नेटवर्क अवरुद्ध हुँदा फोनबाट हुने काम पनि मान्छे भेटेर गर्नु परेको र एक दिनमा सम्पन्न हुने काम पनि २/३ दिन लाग्ने गरेको उनको भनाइ छ । त्यस्तै आफू एक अभिभावक पनि भएकोले विद्यालयबाट सूचना लिन पनि समस्या हुने गरेको उनको भनाइ छ ।

सप्तगण्डकी क्याम्पसमा विए दोस्रो वर्षमा अध्ययनरत तथा अगेनो फुडका संचालक हरी सिलवालले बेलाबखत टेलिकमको इन्टरनेट डाटामा समस्या आउँदा आफ्नो सेवा नै प्रभावित हुने गरेको बताए । उनी भन्छन्, ‘घर बाहिर रहँदा मैले सँधै नेपाल टेलिकमको सिमबाट डाटा चलाउने गर्छु । तर, पछिल्लो समय नेटवर्क अवरुद्ध हुदाँ धेरै समस्या भोग्नु परेको छ ।’

नेपाल टेलिकम भरतपुर शाखाका सुचना अधिकारी चन्दन कुमार झाका अनुसार हरेक अंग्रेजी महिनाको १५ तारिख (३ गते) हिसाब मिलाउने काम टेलिकमको केन्द्रले गर्छ । केन्द्रिय कार्यालयले समयमकै काम नसक्दा नेटवर्कमा समस्या आएको उनले बताए । उनले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार बिहीबार बिहान टेलिकमका पोस्टपेड फोनहरु एकतर्फी (वान–वे) भएका थिए ।

उनी भन्छन्, ‘जिल्लाबाट नभएर केन्द्रबाटै यस्ता समस्या आउने गरेको छ । पटक–पटक नेटवर्क अवरुद्धका कारण सेवाग्राहीमा समस्या भएकोले सम्बन्धित निकायले समस्या समाधान गर्दै छ ।’

बुधबार र बिहीबारको जस्तो समस्या पछिल्लो एक महिनामा तेस्रो पटक देखिएको हो । गत ३ माघको मध्यान्ह १२ बजेदेखि नेपाल टेलिकमको मोबाइल र ल्यान्डलाइन सेवा देशभर अवरुद्ध भएको थियो । त्यतिबेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखा शर्माले मन्त्री पदको पदभार ग्रहण गर्दै थिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>