चितवन विशेष

कोटिहोम महायज्ञ फागुन १५ सम्म लम्बियो, ६० लाखबढी दान संकलन

Banner

चितवन, फागुन ६–

माघ १२ गतेदेखि नारायणी नदी किनारमा सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञ फागुन १५ गतेसम्म लम्बिएको छ । यसअघि फागुन १२ गते महायज्ञ सम्पन्न गर्ने भनिएकामा निर्धारित समयमा तर्पण र मार्जनका कर्महरु बाँकी रहने देखिएपछि तीन दिन थप गरिएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

फागुन १५ गते अन्तिम दिन एक करोड ४९ लाख ८५ हजार दिप प्रज्वलन गरिने महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले जानकारी दिए । दिप प्रज्वलनका लागि फागुन १० गतेसम्म आ–आफ्नो आमा समूह, संघसस्था तथा व्यक्तिले नाम दर्ता गर्न उनले आग्रह गरे । महायज्ञको अन्तिम दिन फागुन १५ गते दिउँसो १२ बजेबाट दिप प्रज्वलन सुरु गरिने छ ।

उनका अनुसार शुक्रबारसम्म एक करोड दुई लाख पटक हवन गरिसकिएको छ । त्यस्तै, महायज्ञमा हालसम्म ६० लाख ३८ हजार ४८९ रुपैयाँ दान प्राप्त भएको छ । महायज्ञमा हालसम्म चरु खरिद गर्नुपरेको छैन । भक्तजनहरुले स्वस्फुर्त रुपमा चरु संकलन गरेर ल्याइरहेको उनले बताए ।

श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्मा शुक्रबारसम्म २२४ जना सनातनीहरु नयाँ आजिवन सदस्य बनेका उनले जानकारी दिए । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ सुरु गरिएको हो । १००८ स्वामी ज्ञानानन्द सरस्वतीले शुक्रबार महायज्ञको अवलोकन पनि गरेका थिए । महायज्ञमा परशुराम पाण्डेय प्रमुख वाचक रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>