Breaking News

चितवनका मूर्तिकार लामा उपकुलपतिमा, न्यौपाने र श्रेष्ठ प्रज्ञा प्रतिष्ठान सदस्यमा सिफारिस

Banner

चितवन, फागुन ४-

चितवनका एक मूर्तिकार र दुई साहित्यकारहरु प्रज्ञा प्रतिष्ठानमा सिफारिस भएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा लालकाजी लामा, प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा अमर न्यौपाने र प्रज्ञासभामा रामहरि श्रेष्ठ सिफारिस भएका हुन् । पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई उपकुलपति र सदस्यमा बुधबार नियुक्त गरेका थिए । भरतपुर महानगरपालिका-१६ ढड्डाघारीका लामा प्रसिद्ध मूर्तिकार हुन् भने भरतपुर-२१ पार्वतीपुरका न्यौपाने र भरतपुर-२ नारायणगढका श्रेष्ठ दुवै साहित्यकार हुन् ।

को हुन् लालकाजी लामा ?

लामा नेपाल ललितकला प्रतिष्ठानका मूर्तिकला विभागका प्रमुख हुन् । उनले चितवनको माडी सोमेश्वरगढी जाने बाटोमा र गैंडाकोटको मौलाकालिका मन्दिर जाने सडकपेटी किनारका ढुंगाहरूमा दर्जनौं विभिन्न आकृतिका मूर्ति बनाएका छन् । चितवन भरतपुरको रानीपोखरीमा उनले बनाएका मूर्तिहरू निकै आकर्षक छन् । उनी १४ वर्ष अघिबाट व्यावसायिक रूपमा मूर्तिकलामा होमिएका थिए । बाल्यकालदेखि नै लालकाजी काम गरे पढ्न नपाउने, पढ्न थाले पैसा नहुने अवस्थाबाट गुज्रिए । एसएलसी पास गरेपछि काठमाडौं पढ्न जाने इच्छा भयो तर पैसाले साथ दिएन ।

२०४८ सालमा एसएलसी परीक्षाको नतिजा पर्खंदाको समयमा उनले साइनबोर्ड लेख्ने काम सिके । भरतपुर ओरालोस्थित लायन्सचोकको क्षितिज आर्टमा साइनबोर्ड र चित्र बनाउन सिके । पछि दुई वर्ष त्यहीं काम गरे । उनीभित्र काठमाडौं गएर पढ्ने इच्छा छँदैथियो । २०५० सालमा उनी काठमाडौं पुगे । काठमाडौंको ललितकलामा पढ्दा पैसाको अभाव भयो । त्यसबेला बिहानी कक्षा थिएन । दिउँसो कलेज जाँदा काम गर्न सक्ने अवस्था भएन । दुई वर्षपछि लामा चितवन रामपुर नै फर्किए । रामपुर बजारमा पसल राखे । जसले काम दिन्छ उसैको काम गरे ।

२०३२ साल पुस ३ गते भरतपुर यज्ञपुरीमा जन्मिएका लामाको निम्न मध्यम वर्गीय परिवार ढड्डाघारीमा बसाइ सरेको थियो । उनी आफूले थाहा पाउँदादेखि नै चित्र बनाउने गरेको सुनाउँछन् । विजयनगर विद्यालयमा पढ्दा किताब र कापीका पाना उनलाई देख्नै हुन्थेन । किताबमा भएका चित्रहरू हुबहु उतार्थे । कैयौंपटक सरको पिटाइसमेत खाएको उनी अहिले पनि स्मरण गर्छन् ।

२०५४ सालमा उनी पुनः काठमाडौं फर्किए । केही समय बागबजारमा काम गरे । २०५७ सालमा काठमाडौंको पुरानो बसपार्कमा पसल खोले । कम्पनीका कामहरू ठेक्का लिएर गर्न थाले । कसैको बोर्ड लेख्थे, ठूल्ठूला ‘ब्याक ड्रप’हरू पनि बनाए । कपडा, टीनका पातामा काम गर्थे ।

फेरि ललितकला क्याम्पसमा उनी २०५६ मा स्नातक तह पढ्न भर्ना भए । त्यहाँबाट उनले पेन्टिङमा स्नातकोत्तर र मूर्तिकलामा स्नातक गरे । चित्र बनाए पनि मूर्ति बनाउने उनको ठूलो इच्छा ललितकलामा स्नातक पढ्न थालेपछि बल्ल पूरा भयो । मूर्ति बनाउने इच्छा लुकाएका लामाले पहिलोपटक गुम्बामा मूर्ति बनाएका थिए । २०५९ सालमा उनले साथीसँग मिलेर ठमेलमा ग्यालरी खोले । चित्रहरू बनाएर बेच्न थाले । चित्रकलासँगै उनलाई राजनीतिको नशासमेत लाग्यो । अनेरास्ववियूको तर्फबाट ललितकलामा दुईपटक स्ववियू सभापति भए ।

लामाले अहिलेसम्म पूणर् कदका सालिक ८ वटा, अर्धकदका १२ वटा बनाएका छन् । मूर्तिहरू ढुंगामा मात्रै बनाउँछन् । लामाले पूणर् कदको सालिक बनाएको १० लाख र अर्ध कदको सालिक धातुमा बनाएको ३ लाख रुपैयाँ भन्दा बढी लिने गरेका छन् । चितवन दासढुंगामा मदन भण्डारी र जीवराज आश्रित, हेटौंडाको शहीद स्मारक पार्कमा मदन भण्डारी, बीपी, गणेशमानको सालिक उनैले बनाएका हुन् ।

को हुन् साहित्यकारहरु न्यौपाने र श्रेष्ठ ?

चितवनका अमर न्यौपाने लोकप्रिय साहित्यकार तथा लेखक हुन् । २०६६ सालमा ‘पानीको घाम’ नामक कृतिबाट नेपाली साहित्यमा प्रवेश गरेका न्यौपाने २०६८ मा प्रकाशित ‘सेतो धरती’ उपन्यासबाट साहित्यप्रेमीहरुमाझ चिनिएका थिए । यो उपन्यासबाट उनले मदन पुरस्कार प्राप्त गरे । न्यौपानेले २०७२ मा शिक्षासम्बन्धी उपन्यास ‘करोडौं कस्तुरी’ बजारमा ल्याए भने उनको पछिल्लो उपन्यास ‘गुलाबी उमेर’ किशोरीको मनोविज्ञानमा आधारित छ । त्यसैगरी चितवनका अर्का साहित्यकार रामहरि श्रेष्ठ प्रधानमन्त्री प्रचण्ड निकट साहित्यकार हुन् । चित्रकला र मूर्तिकलाबाट साहित्यतर्फ संस्मरण लेखन क्षेत्रमा उनी प्रवेश गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>