खेलकुद
चितवन भेटेरान कपः ठमेल र थापा गाउँ फाइनलमा

चितवन, फागुन ३–
स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कपको उपाधिका लागि साविक विजेता फ्रिडम फाइटर ठमेल र थापा गाउँ सुधार समिति भिड्ने भएका छन् ।
आज (बुधबार) सम्पन्न सेमिफाइनलमा जित हात पार्दै ठमेल र थापा गाउँले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा बर्दघाट भेटेरान नवलपरासी अनुपस्थित भएपछि ठमेल वाकओभर पाउदै सिधैं फाइनलमा प्रवेश पाएको हो ।
दोस्रो सेमिफाइनलमा थापा गाउँले एक्स महेन्द्र पुलिस क्लबलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा थापा गाउँले सडन डेथमा बाजी मा¥यो । त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
निर्धारित समयमा १–१ गोल भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पनि ५–५ गोलको बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । सडन डेथमा थापा गाउँका गोलरक्षक दीपक डंगोलले पुलिसको प्रहार विफल बनाउँदै आफ्नो टोलीलाई उपाधि नजिक पुराउनुभयो । उहाँ नै म्यान अफ दि म्याच चुनिनुभयो ।
प्रतियोगिताको फाइनल खेल आज (बिहीबार) दिउँसो १ बजे हुनेछ । चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह–आयोजनामा भएको प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ ।
























