चितवन विशेष
अनेरास्ववियुको स्थायी कमिटी सदस्यमा बागमतीबाट उमेदवारी दिएका प्रकाश आचार्य को हुन् ?

चितवन, फागुन ३–
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । भोलि सकिने महाधिवेशनले अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्ने छ । नेताहरु बीच सहमति नभए मतदान मार्फत नयाँ नेतृत्व चयन हुने छ ।
अनेरास्ववियुको स्थायी कमिटी सदस्यमा चितवनका प्रकाश आचार्यले बागमती प्रदेशबाट उमेदवारी दिएका छन् । बागलुङमा जन्मिएका उनी २०५८ सालदेखि अनेरास्ववियुमा आबद्ध भएका हुन् । सालिन र संघर्षशील विद्यार्थी नेताको रुपमा आचार्यलाई हेर्ने गरिएको छ । शैक्षिक क्षेत्रमा रहेको बेथिती र विसंगतिको अन्त्यका लागि आफ्नो उमेदवारी रहेको आचार्यले बताएका छन् ।
वीरेन्द्र बहुमुखि क्याम्पसबाट राजनैतिक शास्त्रमा स्नातक तह पुरा गरेका आचार्य पिएन क्याम्पस पोखरामा एलएलबी अध्ययनरत छन् । यसअघि उनले सप्तगण्डकी बहुमुखि क्याम्पसबाट स्नातकोत्तर तह पास गरिसकेका छन् ।
अनेरास्ववियुमा आबद्धता
२०६१ सालमा सप्तगण्डकी बहुमुखि क्याम्पसमा प्लस टु कमिटी अध्यक्ष भएका आचार्य २०६४ मा अनेरास्ववियुको सप्तगण्डकी कमिटी सदस्य बने । २०६६ मा क्याम्पस कमिटी सचिव हुँदै २०६८ मा क्याम्पस कमिटीको अध्यक्ष भए ।
२०७२ सालमा जिल्ला कमिटी सचिव भए । २०७६ सालमा अनेरास्ववियुको एकतापछि जिल्ला अध्यक्ष भएका उनी २०७७ सालमा अनेरास्ववियुको जिल्ला संयोजक तथा केन्द्रिय सदस्य बने । उनी हाल अनेरास्ववियुको चितवन जिल्ला सहइन्चार्ज हुन् ।
पार्टीमा आबद्धता
२०७१ सालमा नेकपा एमाले भरतपुर–११ को वडा कमिटी सचिव भएका आचार्य २०७४ मा वडा कमिटी अध्यक्ष भए । २०७५ मा माओवादी केन्द्र र एमाले बीच एकता भएर बनेको नेकपाको वडा कमिटी अध्यक्ष भएका उनी पार्टी विघटनपछि पनि २०७८ मा वडा कमिटीको अध्यक्षमै रहे । उनले नेतृत्व गरेको वडामा एमालेका सबैभन्दा धेरै संगठित सदस्य रहेका छन् । आचार्यको नेतृत्वमा पार्टीले वडाको हरेक चुनावमा विजयी हाँसिल गरेको छ । २०७९ मा उनी वडा कमिटी अध्यक्षबाट बिदा भएका हुन् । उनी हाल विभिन्न संघसस्थामा समेत आबद्ध रहेका छन् ।



























