राजनीति

अनेरास्ववियुमा ‘चितवन मोडल’ : विद्यार्थीको चाहना निर्वाचन

Banner

काठमाडौँ, फागुन ३–

नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन हिजोदेखि काठमाडौँमा सुरू भएको छ । प्रज्ञा प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशनले १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । नेतृत्वका लागि धेरै विद्यार्थी नेताहरुले आकांक्षा देखाएका छन् । तर नयाँ नेतृत्व निर्वाचन प्रक्रियामार्फत टुंग्याउने वा सहमति ? भन्नेमा आकांक्षीहरुबीच नै दुई मत छ ।

निर्वाचन प्रक्रियामा गए विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने गरी तयारी भएको महाधिवेशन आयोजक कमिटीले जनाएको छ । तर, अनेरास्ववियुको माउ पार्टी नेकपा एमाले पार्टी नेतृत्व भने सकभर चुनाव भन्दा पनि सहमतिकै आधारमा नेतृत्व चयन गर्नुपर्ने चाहनामा छ ।

महाधिवेशनको उद्घाटन शत्रमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वका लागि दाबी गरिरहेका (हाल उपाध्यक्ष रहेका) विद्यार्थी नेताहरूलाई संकेत गर्दै त्यसभन्दा मुनिकालाई नेतृत्व छाड्न आग्रह गरे । काम गर्ने परिस्थिति प्रतिकूल भए अर्कालाई नेतृत्व छाड्नु बुद्धिमानी हुने ओलीको भनाइ थियो ।

‘हामी प्रतिस्पर्धा गर्छौँ । त्यसको विभिन्न स्वरूप हुन्छ । प्रतिस्पर्धामा आफूभन्दा अर्को साथीले सहज ढङ्गले काम गर्नसक्ने परिस्थिति छ भने उसलाई छाडिदिनुपर्छ । प्रतिस्पर्धाबाट हटेको होइन । प्रतिस्पर्धालाई उन्नतस्तरबाट स्विकारिएको हो । मेरो भन्दा अर्को साथीको अवस्था अनुकूल छ । मेरो प्रतिकुल छ भने अर्कोलाई छाड्दिनुपर्छ’ ओलीको भनाइ छ ।

महाधिवेशनमा उच्चस्तरीय समझदारी भएर नेतृत्व चयन हुनेमा आफू विश्वस्त रहेको समेत ओलीको भनाइ छ । उनले आसन्न स्ववियु निर्वाचनलाई समेत ध्यानमा राखेर अनेरास्ववियुको नेतृत्व छनोट हुनुपर्ने बताए ।

‘अर्को ध्येय भनेको आसन्न स्ववियु निर्वाचन हो । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा अनेरास्ववियले वर्चस्व कायम गरोस् । जसका लागि अनेरास्ववियुको नेतृत्व निर्वाचनबाट नभई सहमतिको आधारमा होस् भन्ने हो’, ओलीको स्पस्ट संकेत छ ।
गत वर्ष चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष ओलीले पुरै केन्द्रीय कमिटीको नाम पढेर सुनाएका थिए । तर ओलीले पढेर सुनाएको नामप्रति चित्त नबुझेपछि कतिपय नेताले उम्मेदवारी नै दिएर केही पदमा निर्वाचन समेत भएको थियो ।

‘अध्यक्षज्यूले अनेरास्ववियुको नेतृत्व छनोटमा पनि एमालेको चितवन मोडल अपनाउन उपयुक्त हुने संकेत दिनुभयो । तर विद्यार्थीहरु त्यो मोडल स्वीकार्न तयार छैनन्,’एमालेका एक नेता भन्छन् ‘ चितवन मोडल लाद्ने सम्भावना पनि छ ।’

चुनाव भएको खण्डमा गुटबन्दी हुने र त्यसले स्ववियु निर्वाचनलाई समेत असर पर्ने अध्यक्ष ओलीको बुझाई छ । जसले गर्दा सहमतिबाटै नेतृत्व चयन होस् भन्ने चाहना ओलीले प्रकट गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>