खैरहनी

खैरहनीमा शिक्षक मिलान गर्छौः नगरप्रमुख खनियाँ

Banner

कारी महतो

चितवन, माघ २६–

खैरहनी नगरपालिकाको शिक्षा क्षेत्रमा देखिएका विभिन्न विकृति र विसंगति हटाउन नगरपालिकाले शिक्षक मिलान गर्ने नगरप्रमुख शशी कुमार खनियाँले बताएका छन् ।

खैरहनी–१ मा रहेको कंकाली माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव समारोह उदघाटन गर्दै नगरप्रमुख खनियाँले शिक्षक मिलानको प्रक्रिया अघि बढाईएको जानकारी दिएका हुन् । उनले भने–“नगरपालिकाभित्रका विद्यालयहरुको शैक्षिक सुधारका लागि नगरपालिकाले पाँच रणनीति लिएको छ ।”

शैक्षिक सुधारका लागि नीजि र सामुदायिक विद्यालयको पाठ्यक्रममा सुधार गरी एकरुपता ल्याउने, भौतिक पूर्वाधारको विकासको जिम्मा नगरपालिकाले लिने, शिक्षाको लगानी दोब्बर वृद्धि गर्ने, विभिन्न विकृति र विसंगति हटाउन शिक्षक मिलान गर्ने साथै पूर्व विद्यार्थी, पूर्व जनप्रतिनिधि र पत्रकार सहितको सर्वपक्षीय समिति गठन गर्ने नगरप्रमुख खनियाँले प्रष्ट पारेका छन् ।

कंकाली माविको ५५औं वार्षिकोत्सवको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णराज शर्मा ढुंगाना लगायत निवर्तमान अध्यक्ष जगन्नाथ आचार्य साथै पूर्व शिक्षकहरु मिनादेवी कट्टेल र गौतम अधिकारी र कार्यरत कार्यालय सहयोगी प्रेम महतोलाई सम्मान गरिएको छ । सोही अवसरमा नगरप्रमुख खनियाँले कंकाली स्काउटको सदस्यता लिई विभिन्न तालिम लिएका विद्यार्थीहरुलाई स्कार्फ र ब्याज प्रदान गरी दिक्षित गरेका छन् । साथै विभिन्न खेलकुद र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका निवर्तमान प्रमुख कृष्ण कुमार डल्लाकोटी, कंकाली पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्साल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष निलकण्ठ ढुंगानाले मन्तव्य व्यक्त गरेका थिए । प्रधानाध्यापक अन्जना आचार्यले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन र लेखापाल दयाराम दुवाडीले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बिसुरालको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>