चितवन विशेष

आधारभूत विद्यालय सिसाबासलाई प्रशान्त पोखरेल स्मृति पुस्तकालय हस्तान्तरण

Banner

चितवन, माघ २५–

चितवनको भरतपुर–२८ पर्साबजारमा रहेको आधारभूत विद्यालय सिसाबासलाई ‘प्रशान्त पोखरेल स्मृति पुस्तकालय’ हस्तान्तरण गरिएको छ । विद्यालयको ६५औँ वार्षिकोत्सवको अवसरमा स्व. प्रशान्त पोखरेलका हजुरबुबा लिलाबहादुर पोखरेल, स्व. हजुरआमा सोमकला पोखरेल एवं पोखरेल परिवारले दुई कोठे पुस्तकालय हस्तान्तरण गरेका हुन् ।

बागमती प्रदेशका प्रदेश सांसद ईश्वर सापकोटा (सुमन) प्रमुख आतिथि रहनुभएको कार्यक्रममा पुस्तकालय हस्तान्तरण गरिएको थियो । सापकोटाले स्व. पोखरेलको स्मृतिमा स्थापना गरिएको पुस्तकालयले शिक्षामा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । पोखरेल परिवारप्रति कृतज्ञता व्यक्त गर्दै सापकोटाले स्व. प्रशान्त पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

पुस्तकालयमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले पढ्ने पुस्तक राखिएको स्व. पोखरेलका काका बालसिहं पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबै उमेर समूहले पढ्ने पुस्तक राखेका छौँ । जसमा बालबालिकाको मनोविज्ञानसँग जोडिएका पुस्तक, बाल साहित्य, किशोर अवस्थामा उपयोगी पुस्तक, अभिभावक सचेतना बढाउने पुस्तक, सामान्य ज्ञान, स्वास्थ्य सेवामा आधारित पुस्तक, खेतिपातीमा उपयोगी पुस्तक, धार्मिक पुस्तक, भाषालगायत रहेका छन् ।’ पोखरेलले वर्षैपिछे पुस्तकालयमा पुस्तक थप्ने समेत जानकारी दिनुभयो । पुस्तकालय पोखरेल परिवारकै संरक्षणमा रहेने उहाँको भनाइ छ ।

स्व. प्रशान्त पोखरेलको जन्म २०५९ असोज २२ गते भरतपुर–२८ योगीटोलमा भएको थियो । कक्षा ७ सम्म उहाँले आधारभूत विद्यालय सिसाबासमा अध्ययन गर्नुभएको थियो । यस विद्यालयबाट कक्षा ७ उत्तीर्ण गरी उहाँ यसै वडाको श्री सरस्वती माध्यामिक विद्यालय जितपुरमा भर्ना हुनुभएको थियो ।

त्यहाँ पढ्न गएको तीन दिनका दिन साँझ ट्रयाक्टर घर ल्याउने क्रममा दुर्घटनामा परी २०७३ वैशाख १ गते उहाँको स्वर्गारोहण भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर कुमालले पोखरेल परिवारप्रति आभार प्रकट गर्नुभयो । एउटा होनहार विद्यार्थी गुमाउनुको दुःखसँगै पुस्तकालय मार्फत स्व. पोखरेल आफूहरुमाझ रहेको अनुभूति गरेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक उमेश आचार्यले स्व. पोखरेलको स्मृति पुस्तकालबाट विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २८ का वडाध्यक्ष डण्डपाणि रिजाल, लष्ट होराइजन इन्टरनेशनल ह्यान्डीक्राफ्टका प्रबन्ध निर्देशक तथा नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष विशाल कुमाल पुस्तकालय संरक्षक स्व. पोखरेलका बुबा दिपक पोखरेल, आमा शान्ता पोखरेल, काकी हिराकुमारी क्षेत्री पोखरेल, भाइ विल्सन पोखरेल, सुशान्त पोखरेल, बहिनी सुहाना पोखरेल, ठूलोबुबा ताराबहादुर पोखरेल, ठूलोआमा जानुका पोखरेल, दिदी, कविता पोखरेल गोदार, फूपु गान्धारा के.सी, फूपाजु रामबहादुर केसी लगायतको उपस्थिति रहेको थियो । विद्यालयका सह–प्रध्यानाध्यापक खगेश्वर शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>