चितवन विशेष

आधारभूत विद्यालय सिसाबासले मनायो ६५औँ वार्षिकोत्सव

Banner

चितवन, माघ २५-

भरतपुर महानगरपालिका वडा नम्बर २८ पर्साबजार स्थित आधारभूत विद्यालय सिसाबासले ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बुधबार पुस्तकालय हस्तान्तरण तथा छात्रवृत्ति वितरण समारोह गरी विद्यालयले वार्षिकोत्सव मनाएको हो ।

लस्ट होराइजन इन्टरनेशनल ह्यान्डीक्राफ्ट प्रा.लीले यस वर्ष ५ जना जहेनदार विद्यार्थीको लागि छात्रवृत्ति सौजन्य गरेको छ । छात्रवृत्ति पाउनेमा कक्षा २ का याङ कुमाल, कक्षा ३ का आरोषी तामाङ, कक्षा ६ का कुशलता दराई, कक्षा ६ का निश्मा कुमाल, कक्षा ८ का सलुन कुमाल रहेका छन् । गत वर्ष लस्ट होराइजनले ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।

पुर्णेश्वर स्मृती अक्षयकोषले ४ जना विद्यार्थीलाई छात्रवृत्ति सौजन्य गरेको छ । यसबाट छात्रवृत्ति पाउनेमा कक्षा २ मा अध्ययनरत सोनिया छन्त्याल, कक्षा ६ मा अध्ययनरत आयशा महतो, रोहीत चौधरी, अरुची चौधरी रहनुभएको छ । यस्तै देउमाया वखत बहादुर स्मृति अक्षयकोषले दुई जना विद्यार्थीलाई छात्रवृत्ति सौजन्य गरेको छ । छात्रवृत्ति पाउनेमा एन्सिका कुमाल र एलिसीवा तामाङ रहनुभएको छ ।

समाजसेवी अमृत विकले दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । जसमा विकाश तामाङ र करुवा कुमालल रहनुभएको छ । एकल महिलातर्फबाट प्रतिक्षा कुमालले छात्रवृत्ति पाउनुभएको छ । गरिब तथा जेहेनदार विद्यार्थी छनोट गरेर सहयोगी संस्थाहरुले छात्रवृत्ति प्रदान गरेको कार्यक्रममा बागमती प्रदेश सांसद ईश्वर सापकोटा (सुमन) प्रमुख अतिथि रहनुभएको थियो ।

सापकोटाले शिक्षा व्यवहारिक र व्यवसायिक हुनपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘विद्यार्थीले कष्ट गरेर पढ्छन् त्यो व्यवहारमा उत्रिँदैन । पठनपाठन व्यवसायिक पनि हुन सकिरहेको छैन । विद्यालय परिवारपछिको जीवनकोपार्जनको पहिलो पाठशाला हो । त्यसैले यहाँबाट पाउने शिक्षा व्यवहारिक र व्यवसायिक हुन आवश्यक छ ।’ सांसद सापकोटाले गुणस्तरीय शिक्षाको लागि विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समिति संयोजन गरी गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

सापकोटाले योजना बनाएर ल्याए विद्यालयमा विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाको लागि प्रदेश सरकारदेखि केन्द्र र स्थानीय तहसम्म सहजीकरणमा सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । शिक्षा क्षेत्रको विकासको लागि सबैले आ–आफ्नो स्थानबाट सहयोग गरेकोमा सापकोटाले कृतज्ञता समेत व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

विद्यालयका प्रधानाध्यापक उमेश आचार्यले आर्थिक तथा वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । विद्यालयको आर्थिक वर्ष २०७८ देखि २०७९ सम्मको आय व्यय ८९ लाख ८ हजार ७७ रुपैयाँ १७ पैसा रहेको आचार्यले जानकारी दिनुभयो । सबैको चासो र साथ खोज्दै विद्यालयलाई जिल्लाकै नमूना बनाउने प्रयत्नमा लागेको आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘खरको छानो खडाइको बार लगाई आज भन्दा ६५ वर्ष पहिला विद्यालय स्थापना भयो । अहिले कक्षा ८ सम्म पढाउन सफल भएका छौँ । शैक्षिक विकास सँगै भौतिक विकास पनि भैरहेको छ । सबैले चासो र साथ दिए जिल्लाकै नमूना विद्यालय सिसाबास बन्ने छ ।’ विद्यालयमा हाल ३११ जना बालबालिका अध्ययनरत रहेका छन् । जसमा १३४ जना छात्र र १७७ जना छात्रा रहेका छन् । वि.स २०१४ सालमा तत्कालीन शिक्षाप्रेमी स्व. शेरबहादुर कुमालको अगुवाई र अध्यक्षतामा विद्यालय स्थापना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>