अर्थ
प्रेमप्रसादको नियति भोग्नुनपरोस् भन्दै चितवनका उद्योगी–व्यवसायी उत्रिए सडकमा

चितवन, माघ २३–
उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा सोमबार चितवनका उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । नारायणगढस्थित लायन्सचोकमा प्लेकार्डसहित प्रर्दशनमा उत्रिएका उद्योगी व्यवसायीहरुले ‘गरिखाने मर्दै छ, सरकारको राजश्व घट्दै छ’, ‘एकल अंकको व्याजदर कायम गर’ भन्दै नाराबाजी गरेका थिए । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भएको प्रर्दशनमा संघमा आवद्ध ३६ वटा वस्तुगत संघहरुको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले सरकारले उद्योगी–व्यवसायीका मागहरु सुनुवाई गर्न आलटाल गरेको आरोप लगाए । “अर्थतन्त्रमा देखिएका समस्या, नीजि क्षेत्रले भोगेका समस्या समाधानका उपायसहित सरकारको ध्यानाकर्षण महासंघस्तरबाटै भएकै थियो”, उनले भने, ‘समस्या समाधान हुने आशमा थियौँ, तर सुनवाई भएन ।’
अध्यक्ष श्रेष्ठले व्यवसायी चर्को व्यादरको मारमा परेको बताए । ‘७ देखि ८ प्रतिशतको व्याजदर अहिले १६ देखि १७ प्रतिशतसम्म पुगिसक्यो’, उनले भने, ‘व्याजदर एकल अंकमा हुनुपर्छ, मानसिक तनाव दिने काम रोकिनुपर्छ ।’ चालु पुँजी कर्जासम्बन्धि मार्गदर्शन व्यवसायीमैत्री नरहेको जीकिर गर्दै उनले भने, ‘अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक बीच नै तालमेल छैन, फरक–फरक अर्थनीतिहरु छन्, एउटै आवाज, एउटै स्वर हुनुपर्छ ।’ अर्थतन्त्र सुधार गर्न जिम्मेवार बन्नुपर्न भन्दै उनले संसदभवन अगाडी देहत्यागको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यको निधनप्रति दुःख व्यक्त गरे ।
‘प्रेमप्रसादको नियति कसैले भोग्नु नपरोस् । प्रेमप्रसादले सामाजिक सञ्जालमा लेखेका २५ बुँदे ध्यानाकर्षणका मुद्धाहरु सरकारले सुन्नुपर्छ, नीजि क्षेत्रले राखेका मागहरु पनि पुरा हुनुपर्छ ।’, उनले भने । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई दबाब दिने बताए । “पटक–पटक वार्ता भए, छलफल भए, आश्वासन पनि पायौँ”, उनले भने, “तर, समस्या जस्ताको त्यस्तै छ, भोलिको कर्जा कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।”
उनले उद्योगी–व्यवसायी निराश भएर देहत्याग गर्नुपर्ने अवस्था अन्त्यका लागि सरकारले बेलैमा सोच्नुपर्ने बताए । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले व्यवसायी आत्मदाह गर्ने अवस्थासम्म पुग्दासम्म पनि सम्बन्धीत निकायको ध्यानाकार्षण नभएकोले विरोधका कार्यक्रमको आयोजना गरिएको बताए ।
उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले माग पुरा नभए तालाचाबी सरकारलाई बुझाउने चेतावनी दिए । “उद्योग–व्यवसाय नै धरासायी हुन थाल्यो । कोरोनापछि विस्तारै तंग्रिदै गएको अर्थतन्त्र फेरी बिग्रिन थाल्यो”, उनले भने,“देशमा सरकार छ भन्ने अनुभूति व्यवसायीलाई पनि हुनुपर्छ ।”
संघका प्रथम उपाध्यक्ष चिरञ्जिवी सुवेदीले उद्योगी–व्यवसायीलाई निराश पारेर देशको अर्थतन्त्र मजबुत बन्न नसक्ने टिप्पणी गरे । संघका उपाध्यक्ष राजेन्द्र ओलीले राज्यलाई कर तिरी राज्य सञ्चालनमा योगदान दिने तर राज्यको तर्फबाट दायित्व पुरा नगर्दा व्यवसायी सडकमा ओर्लनु परेको बताए । संघका उपाध्यक्ष शिरिष पन्तले स्वदेशमै रोजगारी सृजना गर्न लागेका युवाहरु समेत विदेश पलायन हुने स्थिति आउन थालेको बताए ।

























