चितवन विशेष

किसानको आन्दोलमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को ऐक्यबद्धता

Banner

चितवन, माघ २४–

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), चितवनले किसानको समस्याप्रति गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । उचित मूल्य नपाएपछि चितवनका किसानहरूले सडकमा तरकारी फालेको विषयमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), चितवनका अध्यक्ष भागिरथ तिमल्सेनाले सोमबार विज्ञप्ती मार्फत किसानका माग सम्बोधनको लागि आवश्यक पहल लिन ध्यानाकर्षण गराएका हुन् ।

माओवादी केन्द्र निकट यस किसान संघले कृषकले आफ्नो पहलमा अत्यधिक लागतमा तरकारी उत्पादन गरेतापनि उचित मुल्य र बजार नपाउँदा आफ्नो उत्पादनलाई खेतमा नै जोत्न र बाटोमा फाल्नुपर्ने बाध्यता आइपरेको बताएको छ । विज्ञप्तीमा भनिएको छ,‘बैंक व्याज दिन दिनै बढ्दै जानु र उत्पादनमा प्रयोग हुने वस्तुहरुको मूल्य बढ्नुको कारणले उत्पादन लागत वृद्धि हुदाँ किसानले ठुलो पीडा भोग्नुपरेको छ ।

यस्तो अवस्थामा राज्यले किसानको पक्षमा योजना ल्याउनुपर्ने र किसानको मागहरु पुरा गर्न ध्यान दिनुपर्नेमा सरकार सत्ता मोहमा अलमल गरिरहेको छ । बजारमा ल्याव परीक्षण नगरिएका भारतीय कृषि उपजले (तरकारी, मह, माछा, मासु, अण्डा, दूध, केरा इत्यादीले) बजार कव्जा गरेको छ। त्यसैको परिणाम स्वरुप २०७९ माघ २० गते चितवनका तरकारी उत्पादक कृषकहरुले तरकारी सडकमा फालेर गरेको सरकारको ध्यानाकर्षण र विरोध हो ।’

संघले सो तरकारी किसानहरुको विरोध कार्यक्रमप्रति एक्यवद्धता जाहेर गर्दै अविलम्व भारतबाट आयात गरिने तरकारी, फलफुल, अण्डा, माछामासु, दूध तथा दुग्धजन्य उत्पादनहरु जसले नेपालका कृषकहरुलाई प्रत्यक्ष असर पर्छ । त्यस्ता उत्पादनहरु नेपाल सरकारले रोक लगाई नेपाली कृषकहरुलाई संरक्षण र प्रोत्साहन गरि किसानका माग पुरा गर्न सरकारसंग अनुरोध समेत गर्दछौँ ।’

संघले कृषिप्रधान देश भनिएता पनि किसानले राज्यबाट प्राप्त गर्नुपर्ने सेवा उन्नत बीउ, रासायनिक मल तथा प्राविधिक सेवा समेत प्राप्त गर्न नसकेको आरोप लगाएको छ । किसानहरुले गर्ने हरेक आन्दोलनहरुमा एक्यवद्धता रहेको जनाउँदै संघले दुग्ध उत्पादक कृषकहरुले दूधको मूल्य वृद्धिको लागि उठाएको माग समयमै पुरा गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>