चितवन विशेष

१००८ स्वामी ज्ञानानन्द सरस्वतीद्वारा कोटिहोम महायज्ञको अवलोकन

Banner

चितवन, माघ २०–

सन्त समाजका केन्द्रिय अध्यक्ष एवम् हरिहर सन्यास आश्रमका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको अवलोकन गरेका छन् । महायज्ञको प्रमुख संरक्षकसमेत रहेका १००८ स्वामी ज्ञानानन्द सरस्वतीले महायज्ञको हवन कुण्डलगायतको अवलोकन गरी आर्शिवाद दिएका छन् ।

प्रमुख संरक्षकले छिट्टै महायज्ञमा कथावाचन गर्ने कार्यक्रम समेत रहेको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले जानकारी दिए । प्रमुख संरक्षक १००८ स्वामी ज्ञानानन्द सरस्वती ब्रह्मलीन स्वामी परमानन्द सरस्वतीका उत्तराधिकारी पनि हुन् ।

बिहीबार अन्य अतिथिहरुले समेत महायज्ञको अवलोकन गरेको महायज्ञ संयोजक भारद्धाले जानकारी दिए । कोटिहोम महायज्ञ सफल पार्नका लागि कथावाचक ईश्वरकृष्णजी महाराजले बिहीबार यज्ञको महत्व, दान, पुण्यलगायतका विषयमा कथाप्रवचन गरे । चितवनका आध्यात्मिक पुरुष अखण्ड हरिकिर्तनबाबा उमानाथ कण्डेल, कालिका पिद्यापिठका प्राचार्य डा रामचन्द्र कण्डेललगायतले पनि यज्ञको अवलोकन गरेका छन् ।

महायज्ञमा अहिलेसम्म चरु खरिद गर्नुपरेको छैन । चरु संकलनका लागि गाउँ–गाउँमा विभिन्न समूहलाई परिचालन गरिएको छ । सवा करोड दिप प्रज्वलनका लागि आफ्नो समूहको नाम टिपाउन आमा समूहहरुलाई भारद्धाजले आग्रह गरे । महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने छ । त्यसका लागि महायज्ञ स्थलमा रहेको सचिवालयमा सम्पर्क गर्न सकिने उनले जानकारी दिए ।

माघ १२ गतेदेखि सुरु भएको महायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ । महायज्ञमा ब्रतबन्ध र ग्रहशान्ति गर्न पाँच हजार ५००, चौरासी गर्न २१ हजार रुपैयाँ न्युनतम शुल्क तोकिएको छ । आर्थिक अवस्था कमजोर भएकालाई भने शुल्क अनिवार्य गरिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>