चितवन विशेष

वैकुण्ठनाथ गुरुकुल सञ्चालनका लागि अक्षयकोष स्थापनार्थ लंकुमा महायज्ञ हुने

Banner

चितवन, माघ १८–

भरतपुर–४ धर्मचोकस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरद्वारा संचालित वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)को सञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ महायज्ञ हुने भएको छ ।

अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य (शठकोप) जीयर स्वामी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य लगायत देश–विदेशका प्रमुख सन्त–महात्मा, कथावाचक, विद्वान्, विचारकहरूको आशीर्वचन, दैनिक प्रवचन तथा पीठाधीश स्वामी जगन्नाथाचार्यको शिवसंकल्पमा डा कमलनयनाचार्य रिजालको यज्ञाचार्यत्व तथा विश्व जागरण महाअभियान ट्रष्टका अध्यक्ष ईश्वरकृष्ण महाराजको निर्देशकत्वमा माघ २१ देखि फागुन ६ गतेसम्म श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ हुने भएको छ ।

महायज्ञको प्रथम चरण माघ २२ देखि २८ सम्म यशोदादेवी कौण्डिन्य माता तथा द्वितीय चरण माघ २९ देखि फागुन ६ सम्म अन्तर्रास्ट्रिय ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजले राम–कृष्णकथामृत प्रवचन गर्ने आयोजकले जनाएको छ। महायज्ञको उद्घाटन हुन एक दिन अघि माघ २० गते दिउसो २ बजे मोटरसाइकल र्‍याली, महायज्ञको पहिलो दिन माघ २१ गते बिहान १० बजे लीला–झाँकीसहित विशाल शोभायात्रा एवम् उद्घाटन हुने तथा माघ २२ देखि फागुन ६ गतेसम्म बिहान ६ बजेदेखि १० बजेसम्म चार वेद, अठार पुराण, रामायण, महाभारत आदि धर्मग्रन्थ पारायण हुने छ ।

त्यस्तै, हयग्रीव–महालक्ष्मी–महासरस्वतीको विशेष आराधना–अर्चना, हवन, रबिहान ११ बजेदेखि २ बजेसम्म प्रमुख वाचकबाट सङ्गीतमय श्रीरामकृष्ण चरितामृत कथा–प्रवचन, दाता सम्मान, दिउसो २ बजेदेखि ४ः३० बजेसम्म विशिष्ट आचार्य, विद्वान् विचारकहरूबाट प्रवचन, बेलुका ४ः३० बजेदेखि ५ः३० बजेसम्म आरती, तीर्थ–प्रसाद वितरण, साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय कलाकारहरूबाट साङ्गीतिकभजन, लीला–झाँकी तथा नाटक प्रदर्शन हुने आयोजक समितिले जनाएको छ।

गुरुकुलमा २०७१ सालमा सम्बद्ध प्रशासनिक निकायबाट कक्षा ६ को मान्यता प्राप्त गरी २०७६ सालदेखि क्रमशः कक्षा ९ हुँदै यसै वर्षदेखि कक्षा १२ सम्म संचालन भइरहेको यस गुरुकुलमा अहिले देशका विभिन्न क्षेत्रबाट आएका ५५ जना विद्यार्थीहरूले आवासभोजनसहित निःशुल्क शिक्षा लिइरहेको आयोजकले जनाएको छ। उच्च शिक्षाका लागि आवश्यक पूर्वाधार तयार गरी स्नातक हुँदै स्नातकोत्तरसम्म पुर्याउने लक्ष्य लिइएको र सो लक्ष्य प्राप्तिका लागि हाल गुरुकुलमा रहेको कोष अत्यन्त न्यून रहेकाले जनसहयोगबाट एक बृहत् अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट गुरुकुल संचालन गर्न महायज्ञको आयोजना गरिएको संयोजक तथा गुरुकुल संचालक समितिका अध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>