राजनीति

राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ: महामन्त्री थापा

Banner

दमौली, माघ १२-

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धारणा राख्नुभयो ।

संविधान र निर्वाचन कानून बाँझिएकाले समय धकेल्ने प्रयास भइरहेको भन्दै थापाले भन्नुभयो, “राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।”

पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने बताउँदै थापाले सोही उम्मेदवारलाई जिताउन सबै पार्टीसँग आह्वान गरिने बताउनुभयो । “खासगरी नेकपा ९माओवादी० केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौँमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ ।”

महामन्त्री थापाले पाँच वर्षका निम्ति मत मागेर आएको बताउँदै अहिले विभिन्न बहाना बनाएर जनताको मतलाई दुरुपयोग गर्न नपाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्ने भन्दै थापाले भन्नुभयो, “त्यसो भयो भने राजनीतिमा सन्तुलन ल्याउँछ ।”

महामन्त्री थापाले एकल तागतका आधारमा पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । अरुसँग मिलेर जाँदा कांग्रेस बलियो नहुने विगतले देखाइसकेको भन्दै पार्टीलाई एकढिक्का बनाएर जानुको विकल्प नभएको थापाले बताउनुभयो । नेपाली कांग्रेस नयाँ कार्यक्रमका साथ पुनः जनतामाझ आउने थापाको भनाइ थियो ।

फागुन ७ गतेभित्र भातृसंस्थाले पूर्णता पाउने र वैशाखमा नीति अधिवेशन गर्ने तयारी भइरहेको महामन्त्री थापाले बताउनुभयो । सरकार नहुँदैमा सबै सिद्धियो भन्ने सोच्नु गलत रहेको भन्दै उहाँले अब त्यसमै अल्झिएर बस्न नहुने बताउनुभयो ।
रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>