मनोरञ्जन

फिल्म उद्योगले आत्मसमीक्षा गर्नु जरुरी छः दीपकराज गिरी

०
Banner

काठमाडौं,कात्तिक १८ –

अभिनेता तथा निर्माता दीपकराज गिरीले यस वर्षको दशैंमा प्रदर्शनमा आएको आफ्नो फिल्म ‘छ माया छपक्कै २’ असफलताको जिम्मेवारी आफैँले लिने बताएका छन् । सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै उनले फिल्म असफल हुनुका कारणबारे आत्मसमीक्षा गर्नुपर्ने बताएका हुन् ।

उनले यसपटकको दशैंमा आफ्नो फिल्म असफल हुँदा अन्य फिल्मकर्मी साथीहरूलाई पनि खुसी लागेको हुन सक्ने भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । ‘हामी मात्रै होइन, यी मोराहरू पनि फ्लप भए’ भन्ने सोचले केहीलाई आनन्द मिलेको हुन सक्ने उनको भनाइ छ । उनले फिल्म सफल हुँदा त्यसको कारण खोज्नेभन्दा पनि उत्सव मनाउने तर असफल भएपछि भने अनेक बहाना र दोषारोपण सुरु हुने गरेको बताएका छन् ।

गिरीले फिल्म असफल हुनुमा बहिष्कार अभियानको प्रभाव रहेको भन्नेहरूलाई पनि व्यङ्ग्य गर्दै त्यसलाई चित्त बुझाउने बाटोका रूपमा व्याख्या गरेका छन् । फिल्म कमजोर भएर असफल भएको भन्दा बहिष्कारका कारण असफल भएको भन्नु राम्रो भएको उनको टिप्पणी छ ।

आफ्नो फिल्मको असफलताको पीडाबीच अन्य फिल्मको व्यापारिक अवस्थासमेत हेरेको उनले बताएका छन् । उनका अनुसार यसपटक दशैंमा प्रदर्शनमा आएका चार फिल्मका अघिल्ला श्रृंखलाले क्रमशः २१ करोड, १९ करोड, १२ करोड र ९ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

तर यसपटक ती फिल्मले क्रमशः १० करोड, दुई करोडभन्दा केही बढी, ६ करोडभन्दा केही बढी र तीन करोडभन्दा केही बढी रुपैयाँको व्यापार गरेको उनको दाबी छ । यस्तो तथ्याङ्क हेर्दा आफ्नो फिल्म असफल भएको पीडा केही कम महसुस हुने उनले बताएका छन् ।

तर, अरू फिल्मको व्यापार कमजोर हुँदैमा आफ्नो फिल्मको असफलता नमेटिने उनको भनाइ छ । उनले आफूले व्यक्तिगत रूपमा गरेका कमजोरी महसुस गरिसकेको उल्लेख गर्दै नेपाली फिल्म उद्योगका अन्य फिल्मकर्मीले पनि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

‘मैले जसरी पनि जित्नुपर्छ भनेर मैले खेलेको खेलको असरले बिस्तारै आफैँलाई हार्ने वातावरण त बनिरहेको छैन ? आफू अलि अगाडि देखिनका लागि गरिएका हाम्रा गतिविधि कतै आफ्नै खुट्टामा बन्चरो साबित त भइरहेका छैनन् ?’ उनले प्रश्न गरेका छन् ।

उद्योगका सबै पक्षले यस विषयमा सोच्नुपर्ने बताउँदै उनले नेपाली फिल्म क्षेत्रको भविष्यका लागि सामूहिक आत्मसमीक्षा आवश्यक रहेको धारणा राखेका छन् ।

आफ्नो फिल्मको असफलताको जिम्मेवारी सम्पूर्ण टिमका तर्फबाट आफैँले लिने बताउँदै उनले दर्शकले दिएका सुझाव समेटेर अर्को वर्ष फेरि हलमा आउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । उनले आगामी वर्षको दशैंमा ‘छ माया छपक्कै ३’ ल्याउने घोषणा गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>