राजनीति

राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी

०
Banner

काठमाडौं,कात्तिक १८ –

नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका बारेमा फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा बुधवार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह गर्न आग्रह गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले कुनैपनि दलले देश र जनताको हितमा गरेका कार्यहरू र हासिल गरेका उपलब्धिहरूको वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्ने बताउनु भयो । उहाँकाअनुसार पछिल्लो समय सामाजिक सञ्जाल र अन्य माध्यमबाट राजनीतिक दलहरूविरुद्ध फैलाइने गलत सूचनाहरूले समाजमा भ्रम सिर्जना गरेका छन्, जसलाई चिर्न सचेत नागरिक र विशेष गरी प्रवासी नेपालीहरूको भूमिका महत्वपूर्ण हुन्छ । उहाँले प्रवासी नेपालीहरूलाई नेपालको समसामयिक राजनीतिक परिवेशसँग नजिक रहँदै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न आह्वान गर्नुभयो ।

भण्डारीले भन्नुभयो, ‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धि बारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नु पर्दछ । विशेष गरी विदेशमा रहनुभएका नेपाली समुदायमा नेपालको राजनीतिक घटनाक्रम र राजनीतिक दलहरुबारे सही सूचना तथा विचार संप्रेषण गर्दै स्वस्थ र तथ्यपरक बहसको वातावरण निर्माण गर्न तपाईंहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

नेता भण्डारीले प्रवासी नेपाली मञ्चका सदस्यहरूलाई राष्ट्रिय हित र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षाका लागि दृढताका साथ उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक दलहरूका बारेमा हुने गरेका आधारहीन आलोचना र अफवाहहरूले मुलुकको छविमा पार्ने असरप्रति चिन्ता व्यक्त गर्दै सत्यको अन्वेषण र त्यसको प्रचारमा जुट्न आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>