राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिने, विभिन्न आयोग र विभाग गठन

चितवन,माघ ९–
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिने भएको छ । रास्वपाको हिजो बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
पार्टीको निर्णय अनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरेको छ । त्यस्तै यहि माघ मसान्तभित्र पार्टीले प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरुको पुनर्गठन गर्ने कार्यक्रम तय गरेको छ ।
माघ १४ गते प्रदेश नं १, १६ गते मधेश प्रदेश, १८ गते बाग्मती प्रदेश, २१ गते गण्डकी प्रदेश, २४ गते लुम्बिनी प्रदेश, २६ गते सूदुरपश्चिम प्रदेश र २८ गते कर्णाली प्रदेशको प्रदेश समिति पुर्नगठन गर्ने तयारी थालेको छ ।
त्यस्तै, रास्वपाले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरेलाई नियुक्त गरेको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिको प्रमुखमा डा भरतमणि देवकोटा र सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने रहेका छन् ।
विवाद समाधान समितिको प्रमुखमा विष्णु कुमार श्रेष्ठ र पुनरावेदन समिति को प्रमुखमा विपिन कुमार आचार्य र सदस्यमा दिपक बोहरा नियुक्त भए ।
नीति तथा विचार विभागको प्रमुखमा डा मुकुल ढकाल, अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा विपिनकुमार आचार्य, मानवीय विकास प्रवद्र्घन विभाग प्रमुखमा कुशुम महर्जन, प्रशिक्षण विभाग प्रमुखमा डा मुकुल ढकाल, सङ्गठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोटी, उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ र सचिवमा शंकर श्रेष्ठ नियुक्त भए ।
उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा डा अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिन कुमार आचार्य नियुक्त भए ।



























