राजनीति
गरिबीको दर घटाउँदै पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ, माघ ७-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिबीको दर घटाउँदै प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। आज शनिबार काठमाडौंमा ‘राइट टु प्रोटेन रन’ हाफ म्याराथुन पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि आम समुदायमा पोषणको स्रोतमा पहुँच पग्न नसकेको बताए।
उनले प्रोटिन नपुग्दा पुड्कोपनाको समस्या तथा उमेर र उचाइअनुसार हुनुपर्ने तौल नपुगिरहेको अवस्था रहेको उल्लेख गरे।
‘तथ्यांक अनुसार सन् २०१९ मा ३२ प्रतिशत ५ वर्ष मुनिका बच्चाहरुले उमेर अनुसारको उचाई प्राप्त गर्न सकेनन् खास गरी उमेर अनुसार जति प्रोटिनको आवश्यकता हुन्छ, सोअनुसारको उपलब्धता हुन नसक्दा यस्ता समस्याहरु हामीले भोगिरहेको तथ्य जगजाहेर नै छ, प्रधानमन्त्री प्रचण्डले भने, ‘पुड्कोपना र कुपोषणको समस्याबाट विशेष गरी गरीबीको रेखामुनि रहेका आमजनसमुदाय बढी पीडित रहेको पाइन्छ।’
उनले पहिलो १००० दिनमा बालबालिकाहरुलाई उपलब्ध हने पोषणले उनीहरुको समग्र स्वास्थ्यमा नै असर पार्ने तथ्यबारे नेपाल सरकार जानकार रहेको बताए। गर्भवती महिला र नवजात शिशुहरुलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु समेत नेपाल सरकारले सञ्चालन गरिरहेको उनले बताए।



























