राजनीति
श्रममन्त्री डोलप्रसाद अर्याल भन्छन्ः तत्काल वैदेशिक रोजगारी रोक्न असम्भव छ

काठमाडौँ, माघ ६-
श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारी रोक्न असम्भव भएको बताएका छन्।
आज (शुक्रवार) नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधारणसभामा बोल्दै श्रम मन्त्री अर्यालले वर्तमानमा वैदेशिक रोजगारी रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित‚ व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउनुपर्नेमा जोड दिएका हुन्।
उनले भने, ‘विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारी रोक्न असम्भव भए पनि यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक छ।’
उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने दाबी गरे। मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई बाध्यात्मक नभएर स्वैच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गरे।



























