राजनीति

परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ: अध्यक्ष ओली

Banner

काठमाडौँ, माघ ६- 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुने गरी सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो ।

“हामीले दुई वटा छिमेकीसँग स्पष्ट र भरपर्दो सम्बन्ध बनाउनुपर्छ, बोल्ने एउटा र व्यवहार अर्को गर्नु हुँदैन”, अध्यक्ष ओलीले भन्नुभयो, “असल छिमेकी बन्नका लागि भलो चिताएर, उनीहरुको चासो, चिन्तालाई समेत यथोचित सम्बोधन गरी अघि बढ्नुपर्छ ।”

नेपालको सार्वभौमसत्तामाथि अतिक्रमण हुने नदिने र देशको सार्वभौमसत्ता, स्वाधीनतामा कसैलाई प्रयोग हुन नदिने उल्लेख गर्दै ओलीले भन्नुभयो, “नेपालमा कुनै प्रकारका सैनिक राख्न दिँदैनौँ तर नेपालले सबैसँग मित्रता राखेको छ, कसैसँग पनि शत्रुता राखेको छैन ।”

अध्यक्ष ओलीले विश्व शान्तिका लागि सबैले काम गर्नुपर्ने उल्लेख गर्दैै थप्नुभयो, “विश्वभरि नै शान्ति कायम हुन सकोस, सबै देशको सार्वभौमसत्ताको सम्मान हुन सकोस ।” उहाँले कुनै पनि हिसाबले युद्धलाई साथ र समर्थन नगर्ने र संसारमै युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “युद्ध भएका ठाउँमा वार्ताको माध्यमबाट अन्त्य गरिनुपर्छ, सबै देशहरु सार्वभौमसत्ता सम्पन्न छन् ।”

नेपालले कूटनीतिक सम्बन्ध बलियोरुपमा अघि बढाउनुपर्ने र पारस्परिक लाभ तथा सम्मानका आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्ने नेपालको परराष्ट्र सम्बन्ध नीति सञ्चालन गर्ने आधार भएको स्पष्ट पार्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>