चितवन विशेष
पोखरा विमान दुर्घटना : छोरीको शव बुझ्न पोखरा पुगे ओसिनका बुबाआमा, माडी घरमा सन्नाटा

चितवन, माघ २–
आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा माडीकी विमान परिचालिका (एयर होस्टेस) ओसिन आलेमगरको पनि मृत्यु भएको छ । यति एयरमा काम गर्न थालेको भर्खर ५ महिना हुँदै गर्दा ओसिनको अकल्पनिय मृत्यु हुन पुग्यो ।
जेठी छोरीको विमान दुर्घटनामा मृत्यु भएपछि उनको परिवार विक्षिप्त बनेको छ । माडी नगरपालिका–८ दक्षिण अयोध्यापुरीस्थित ओसिनको घरमा सन्नाटा छाएको छ ।
छोरीको शव बुझ्न उनका बुबा मोहन आले मगर र आमा सबनम आले मगर पोखरा पुगेका छन् । ओसिनको एक भाई र एक बहिनी रहेको माडी–८ का वडा अध्यक्ष बिरेन्द्र बहादुर भण्डारीले जानकारी दिए ।
छोरीले काठमाडौँमा बसेर काम गर्न थालेपछि उनको परिवार पछिल्लो १ वर्षदेखि काठमाडौँमा बस्दै आएको भण्डारीले बताए । यति एयरमा काम गर्नुअघि ओसिनले सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेकी हुन् ।
ओसिनको परिवारको माडीमा घर र करिब डेढ बिघा जग्गा छ । उनका बुबा मोहन आले मगर साइला भाई हुन् । भारतीय सेनाको जागिरबाट अवकाश प्राप्त मोहनका चार जना दाजुभाई छन् । ओसिनका ठूला बुबाहरु पनि शव बुझ्न माडीबाट पोखरा जाँदै छन् ।

























