खैरहनी

थारु समुदायको उत्थानका लागि लाग्नेछु– गृहमन्त्री लामिछाने

Banner

चितवन,पुस २८-

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले थारु समुदायको उत्थानका लागि आफू लागि पर्ने बताउनुभएको छ । पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको आठौँ खिचरा महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले थारु समुदायको समस्या समाधानमा सरकार र आफ्नो मन्त्रालय लागि पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने छु ।”

थारु संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी भएको भन्दै यो समुदायको संस्कृति जगेर्ना गर्नका लागि यस्ता मेला महोत्सव आवश्यक पर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “थारु समुदायबाट अन्य समुदायले सत्कार र सम्मानको विषयमा सिक्नु पर्छ ।” जनताको दिएको जिम्मेवारी पूरा गर्नका लागि समय व्यवस्थापन गर्दै थारु समुदायको उत्थानमा लाग्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले थारु संस्कृतिको माघी पर्व अहिले सबै समुदायको साझा बन्न सफल भएको बताउनुभयो । माघी पर्व अहिले सार्वजनिक शिक्षालयका रूपमा अघि बढेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यस महोत्सवले चितवनको बृहत् हितमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।” बागमती प्रदेश सरकार चितवनका पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटनलाई पूर्वाधारसँग जोड्दै अघि बढ्ने उहाँले बताउनुभयो ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघे सक्रान्तिको अवसरमा महोत्सव गर्दै आएको छ । आजदेखि माघ ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीका अनुसार देशभरका थारु जातिको रहनसहन र वेशभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको छ ।

थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवबाट थारु जाति र थारु जातिको वेशभूषासँगै पहिचान तथा संस्कृतिको जगेर्नामा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।

महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवर्द्धन परिसरसमेत रहनेछ । महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ ।

यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले अवैध कुखुराको चल्ला र अण्डा रोक्न निर्देशन दिनुभएको छ । पोल्ट्री व्यावसायीहरूले आज यहाँ आयोजना गरेको छलफलमा बोल्दै मन्त्री लामिछानेले जिल्लाका सुरक्षा निकायहरूलाई अवैध कुखुरा, चल्ला र मासु आयात रोक्न निर्देशन दिनुभएको हो ।

व्यावसायीहरूले अण्डा, चल्ला र कुखुराको मासु विभिन्न नाका हुँदै नेपाल भित्रिएको बारेमा गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । उनीहरूले आफूहरूको व्यवसायमा सङ्कट उत्पन्न भएको भन्दै त्यतातिर ध्यान दिन अनुरोध गरेका थिए । छलफल कार्यक्रमबाटै मन्त्री लामिछानेले नेपालगञ्ज, सिन्धुली, सर्लाहीका सुरक्षा अधिकारीहरूलाई टेलिफोनमार्फत आयात रोक्न निर्देशन दिनुभएको हो ।

उहाँले आजै उद्योग सङ्घ चितवनले यहाँ आयोजना गरेको उद्योग क्षेत्रमा देखिएका वर्तमान र औद्योगिक विकासका लागि सरकारसँगको अपेक्षा विषयक छलफल कार्यक्रममा समस्याको निकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा मन्त्री लामिछानेले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी आउँदो सोमबार उद्योगीहरूको समस्याको विषयमा निर्णायक छलफल गर्ने गरी कार्यक्रम तय गर्न आग्रह गर्नुभयो ।

आफू यसै क्षेत्रको जननिर्वाचित सांसद भएकाले यहाँका उद्योगी व्यवसायीको समस्याको समाधान गर्ने जिम्मेवारी आफ्नो भएको उहाँले बताउनुभयो । सो अवसरमा उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कडेंल, वरिष्ठ उपाध्यक्ष सूर्य न्यौपाने र उपाध्यक्ष युगराज वस्तीले उद्योगीहरूले अहिले झेल्नुपरेको समस्याका बारेमा अवगत गराउनुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>