चितवन विशेष

अभियन्तालाई फोहोरमाथि गएर कविता भन्न प्रहरीले दिएन

Banner

चितवन, पुस २४–

नारायणी नदी किनारमा फोहोर डम्पिङ गरेको विरोधमा नगर वनस्थित फोहोरको टापुमाथि कविता वाचन गर्न गएका अभियन्तालाई प्रहरीले अवरोध गरेको छ ।

भरतपुर महानगरपालिकाले नारायणी नदीकिनारमा फोहोर डम्प गर्दै आएको कार्यप्रति वातावरण संरक्षणकर्मीले विरोध जनाउँदै आएका छन् । ‘नारायणी बचाऔँ’ अभियान बनाएर अभियान्ताले नदीकिनारमा फोहोर पुरेर महोत्सव गर्ने तयारी गरेदेखि विरोध जनाउन थालेका हुन् ।

भरतपुर महानगरले नगर वनमा फोहोर डम्प गर्दा फोहोरको टापु नै बनेको छ । महानगरको विरोध स्वरुप फोहोरको टापुमा कविता वाचन गर्न पुगेका अभियन्तालाई प्रशासनले सुरक्षाकर्मी लगाएर कार्यक्रम गर्न रोक लगाएको हो ।

अभियन्तालाई रोक्न सादा पोसाकमा प्रहरी खटाइएको थियो । निषेधका बीच अभियान्ताहरु फोहोर डम्पिङ साइडमा पुगेर निरीक्षण गरी फर्किएका थिए ।

प्रहरीले डम्पिङ साइडमा प्रवेश गर्न निषेध गरेपछि वडा प्रहरी कार्यालय नारायणगढको कार्यालयअगाडिपट्टि नारायणी नदीको बगरमा अभियन्ताले कविता वाचन गरे । कार्यक्रममा प्रकृतिप्रेमी र वातावरण संरक्षणसम्बन्धी आठवटा कविता वाचन गरिएको ‘नारायणी बचाऔँ’ अभियानका अभियन्ता सागर कार्कीले बताए ।

‘नारायणी नदीमा महानगरले कसरी फोहोर व्यवस्थापन गरिरहेको छ भनेर अभियन्ताहरुलाई देखाउने र एउटा कार्यक्रम पनि गर्ने उद्देश्यले त्यहाँ जान लागेका थियौँ’, उनले भने, ‘मुख्यत त्यहाँको वस्तुस्थिति बुझ्ने योजना थियो । प्रवेश निषेध गरेर मुद्दालाई दबाउन खोजिएको छ ।’

भरतपुर महानगरले विगत १५ वर्षदेखि नारायणी नदीकिनारमा फोहोर डम्पिङ गर्दै आएको छ । फोहोरको उचित व्यवस्थापनका लागि स्यानिटरी ल्यान्डफिल साइट बनाइदिने भनेको कोरियन सरकार पछाडि हटेपछि केन्द्रीय सरकारको बजेटमै ल्यान्डफिल साइट बनाउने योजनामा महानगर पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>