चितवन विशेष
भरतपुर अस्पतालमा ५५ जना थालेसेमियाका बिरामीको बिमा

प्रतिमा कुमाल
चितवन, पुस १८
चितवन सहायता कोष क्याट बेल्जियमले ५५ जना थालेसेमियाका बिरामीको बिमा गरेको छ ।
भरतपुर अस्प्तालमा उपचारार्थ थालेसेमियाका बिरामीहरुको बिमा क्याटले गरेको हो ।
बिमा बापतको एक लाख ९२ हजार ५०० क्याटका पूर्वअध्यक्ष दिनेश भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पौडेलले चितवन र नवलपरासी गरी ९२ जना थालेसिमियाका बिरामीको दर्ता अस्पतालमा रहेको बताए । थालेसिमियाका बिरामीको संरक्षण राज्यले गर्नुपर्ने उनले जोड दिए । उनले भने, ‘हरेक फूल आफ्नो समयसम्म फुल्न पाउनु पर्छ । तर, थालेसिमियाबाट पीडित बालबालिकाले युवा अवस्थामै ज्यान गुमाउनु परेको छ । राज्य यसमा जिम्मेवार हुन आवश्यक छ ।’ पौडेलले क्याट बेल्जियमको सहयोग प्रति आभार प्रकट गरे ।
अस्पतालका मेसु कृष्ण पौडेलले थालेसिमियाका बिरामी प्रति राज्यको ध्यान कम भएको आरोप लगाए । घातक रोग बनेको थालेसिमियाको उपचार बिरामीले पाउन मुस्किल देखिँदा खिन्नताबोध हुने उनको भनाइ थियो । थालेसिमियाको उपचार गर्दै आएका भरतपुर अस्पतालका डा. नारायण थापाले यस रोगको विषयमा जनसमुदायलाई जागरुक बनाउनुपर्नेमा जोड दिए । क्याटका पूर्वअध्यक्ष भण्डारीले राज्यले पारिवारिक भूमिका नखेल्दासम्म थालेसिमियाका बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने गुनासो गरे ।
























