Breaking News
भरतपुरको अरोमा कलेजका शिक्षकले सम्बेदनशिल अंगहरुमा छुने गरेको छात्राहरुको आरोप

प्रतिमा कुमाल
चितवन, पुस ५–
भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुव्र्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।
कम्प्युटर ल्याबका आरोपित शिक्षकलाई कलेजले कारबाही नगरेको भन्दै आज (मंगलबार) विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरु कलेजभित्र कलेजको ब्यानर र आफूले लगाएको टाई बालेर प्रदर्शन गर्नुका साथै तोडफोडमा पनि उत्रिएका छन् । प्रदर्शनपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको छ ।
आरोपित शिक्षकले विद्यार्थीलाई कम्युटर सिकाउने बहानामा सम्बेदनशिल अंगहरुमा छुने गरेको कलेजकी छात्रा निलम मगरले बताइन् । कक्षा ११ मा अध्ययनरत मगरले भनिन्, ‘एकजना मात्र पीडित भएका होइनन् । कम्प्युटर कक्षा लिने धेरै छात्रा पीडित भएका छन् । नराम्रो तरिकाले सम्बेदनशिल अंगहरुमा छुने गरेको छ । फेसबुक म्यासेन्जरमा नराम्रो म्यासेज गर्ने गरेको पाइएको छ ।’
मगरले बारम्बार कलेज प्रशासनलाई जानकारी गराउदा पनि कुनै कारबाही नभएपछि आन्दोलनमा उत्रिएको नारायणी अनलाइनलाई बताइन् । ‘कलेज प्रशासनलाई सुवेदीलाई कलेजबाट निस्कासन गरियोस् भन्ने माग गरेका थियौं । निकाला गर भन्दा प्रहरी प्रशासन लागेको छ,’ उनले भनिन् । सोही कलेजमा अध्यनरत शुसी तामाङले विद्यालयको सीसी क्यामेरामा कैद भएको प्रमाण कलेजले नष्ट गरेको आरोप लगाइन् ।
आन्दोलित विद्यार्थीहरुले कलेजको प्रतिष्ठा खलबलिने डरले घटना दबाउन खोजेको आरोप लगाएका छन् । कलेजले न्याय दिन्छ भन्ने आशामा घटना भएको चार दिनसम्म आफूहरु चुपलागेर बसेको विद्यार्थीहरुको भनाइ छ । आरोमामा आफ्नो छोरा पढाउँदै आएका गैंडाकोटका रामचन्द्र भट्टराईले घटना एकदमै दुःखद् भएको गुनासो गरे । शिक्षकबाट नै विद्यार्थी जोगाउन गारो भएको दुःख व्यक्त गरे । भट्टराईले घटनाको सही अनुसन्धान गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएको बताएका हुन् । उनले घटनाको अनुसन्धानको लागि आफूहरु कलेजमा नै खटिरहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘घटनाको बारेमा अनुसन्धान चलिरहेको छ । विद्यार्थीहरु आन्दोलित भएका छन् ।’

























