नवलपुर

गैडाकोटका स्वतन्त्रता सेनानी सापकोटाको निधन

Banner

चितवन,कात्तिक २३-

बागलुङ हुँदै नवलपरासीलाई आफ्नो राजनीतिक तथा सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएका नेपाली कांग्रेसका पुराना नेता तिलकप्रसाद सापकोटाको बुधबार भरतपुरस्थित अस्पतालमा ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वास समस्याबाट ग्रसित सापकोटालाई मंगलबार अपराह्नमात्रै अस्पताल लगिएको थियो । राजनीतिक अभियोगमा २०४० सालदेखि रुपन्देही, पाल्पासहितका जेलमा ४ वर्ष बन्दी जीवन बिताएका सापकोटा कांग्रेसमा २०१५ सालदेखि सक्रिय रहेका थिए । सापकोटाले जननेता बीपी कोइरालाबाटै कांग्रेसको सदस्यता लिएका थिए । सापकोटाले गैंडाकोटमा कालिका संस्कृत विद्यापीठ, कालिका विद्यालय, गैंडाकोट नहर परियोजना, विजय विकास स्रोत केन्द्रको स्थापना गर्नमा अग्रणी भूमिका निभाएका थिए, देवघाट विकास समितिलाई व्यवस्थित र सेवा–सुविधायुक्त बनाउन पहल गरेका थिए ।

सापकोटाका छोरा कृष्ण सापकोटाका अनुसार, २०३६ सालको जनमतसंग्रहमा बागलुङ बसेर बहुदलको पक्षमा माहोल बनाएपछि राज्यसत्ताका निम्ति तिलकप्रसाद तारोझैं रहेका थिए । राजनीतिक यात्रामा उनले २०२८ सालपछि बागलुङ र नवलपरासी जिल्लाको पार्टी सचिवका रूपमा काम गरेका थिए । आफू राजनीतिक र सामाजिक रुपमा स्थापित रहेको नवलपुर–१ मा कांग्रेसका तर्फबाट आफूले पाएको संसदीय टिकट नेता शशांक कोइरालालाई दिएर ३ पटकसम्म कोइरालालाई संसद् पठाउने त्यागी नेताका रुपमा सापकोटा चिनिन्छन् ।

नेपाली कांग्रेसले सधैं उपेक्षा गरेका स्वतन्त्र सेनानीका रुपमा चिनिने सापकोटाले २०४० सालदेखि निरन्तर लेखिरहेको दैनिकीको संस्मरण कृति ‘यात्रा निरन्तर’ सांग्रीला बुक्सले गत वर्ष प्रकाशित गरेको थियो । गैंडाकोटामा स्थायी बसोबास रहेका सापकोटाका श्रीमती, ७ छोरा र ४ छोरी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>