Breaking News
छठ पर्व सकियो, नारायणी नदी किनारमा व्रतालुले गरेको फोहोर व्यवस्थापन भएन

प्रतिमा कुमाल
चितवन, कात्तिक १५-
छठ पर्व सकिए पनि नारायणगढको नारायणी नदी किनारमा व्रतालुले गरेको फोहोरको व्यवस्थापन नहुँदा नदी किनार कुरुप देखिएको छ ।
तराई सामूदायिक सेवा समिति नारायणगढको आयोजनमा छठ पर्व कात्तिक १३ गते सकिएको हो । छठपर्व सकिएको दुई दिनसम्म पनि आयोजकले फोहोर नउठाउँदा नारायणी नदी किनार डम्पिङ साइट जस्तै देखिएको छ ।
फोहोर संकलन नहुदा आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास भइरहेको नारायणी नदी किनारमा घुम्न, घाम ताप्न एवम् रमाइलो गर्न आउने पर्यटकहरुलाई असहज भएको व्यवसायीहरु बताउँछन् । फोहोर संकलन गर्ने जिम्मा भरतपुर महानगरपालिकाको रहेको तराई सामूदायिक सेवा समिति नारायणगढका सचिव नारद परिहस्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पर्यावरणको लागि सचेत छौं । हाम्रो पर्व पनि यसै सम्बन्धी छ । त्यसकारण फोहोर व्यवस्थापनको जिम्मा भरतपुर महानगरलाई दिएका हौं । सरसफाई भएको छ भन्ने हामीलाई लागेको छ ।’ नदी किनारको फोहोर संकलन भएको छैन भने समितिका अध्यक्ष जयकिशोर पाण्डेयसहित सबै जना महानगर जाने परिहस्तले बताउनुभयो ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भोलि बुधबारसम्म नदी किनार सफा हुने बताउनुभयो । महानगरको वातावरण शाखालाई जानकारी भएको र भोलिसम्म सफा हुने बताउनुभएको हो । साथै बर्खामा नदीले खोलेको खाल्डोलाई डस्बिनको रुपमा प्रयोग गरिएको छ । नदी किनारमा व्यवसायीको पसलबाट निस्किएको पलास्टिकका नगल्ने फोहोर त्यहा थुपारेका छन् । छठ पर्वको अवसरमा चितवनको नारायणी नदी किनारमा ११ हजार भन्दा बढीले व्रतालुहरुले अबलोकन गरेको आयोजकको भनाइ छ ।

























