नवलपुर

विकू सहकारीले मनायो ३२ औँ स्थापना दिवस, विकू वर्णमाला लोकार्पण

Banner

नवलपुर, भदौ ६-

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नीति, विधि र प्रविधिमा सञ्चालित सहकारी संस्थाहरु कहिल्यै पनि नडुब्ने बताउनुभएको छ । त्यस्ता सहकारीहरुका सबै सूचक राम्रो हुने भएकाले ती सहकारी नडुब्ने थपलियाको भनाइ थियो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा मुख्य कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३२ औँ स्थापना दिवसको कार्यक्रममा सचिव थपलियाले सहकारी संस्थाहरु पारदर्शी व्यवस्थित र मर्यादित हुनुपर्ने बताउनुभयो । सहकारी अभियानलाई अगाडि बढाउन सरकारले ३५ बुँदे निर्देशनसमेत जारी गरेको थपलियाको भनाइ थियो । “हामीले सहकारी संस्थाहरुलाई लक्षित गरेर सहकारी ऐनसमेत जारी गरेका छौँ” थपलियाले भन्नुभयो, “यस्ता ऐनहरु आवश्यकताअनुसार परिमार्जित हुँदै जान्छन्, आवश्यक परेको खण्डमा वर्षमै तीन–चार पटकसम्म परिमार्जित गर्न सकिन्छ ।”

सहकारी ऐनको विषयमा विरोध जनाउनु भन्दा पनि आफूहरुलार्ई सकारात्मक सुझाव दिन समेत थपलियाले अनुरोध गर्नुभएको छ । उहाँले बचत तथा ऋण सहकारी संस्थाहरुलाई व्यवस्थित बनाएर लैजान आवश्यक रहेको बताउनुभयो । सहकारीलाई व्यवस्थित बनाएर अघि बढाउने सन्दर्भमा सबैसँग छलफल र सहकार्य गर्दै अगाडि बढ्न मन्त्रालय तयार रहेको थपलियाको भनाइ थियो ।

सो कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव एवं नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दाहालले विकूले सहकारी अभियानको अभिभावकत्व ग्रहण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सहकारी संस्था र राजस्वको विषयमा समितिले चाँडै नै नवलपुरमा छलफल चलाउने उल्लेख गर्दै दाहालले त्यस विषयमा विकूसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । जर्मनी लगायतकाक देशमा रहेका सहकारी संस्थाहरु सरकारभन्दा धनी रहेको उल्लेख गर्दै दाहालले नेपालका सहकारी संस्थाहरु समेत अब्बल हुनका लागि विदेशी सहकारीको राम्रा कुरालाई अनुशरण गर्नुपर्ने बताउनुभयो ।

विकूको स्थापना दिवसको अवसरमा विकू वर्णमाला लोकार्पण तथा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलार्ई पुरस्कार वितरण गरिएको थियो । व्यवहारिक ज्ञान र जीवन उपयोगी ज्ञानलाई समेटेर विकूले वर्णमाला तयार पारेको संस्थाका सचिव प्रेमप्रसाद सापकोटाले बताउनुभयो । विकूले तयार पारेको वर्णमाला दुई वर्षदेखि छ वर्षसम्मका बालबालिकाका लागि मात्रै नभएर जीवनभर काम लाग्ने गरी सहकारी शिक्षा, बचत गर्न उत्प्रेरणा गर्ने शिक्षा, स्वास्थ्य शिक्षा लगायतका विषयहरु समावेश गरिएकाले यसलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा सचिव सापकोटाले जोड दिनुभयो ।

वार्षिकोत्सवका कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगिता, चम्चा दौड, महिला फुटबल, पुरुष फुटबल, हाजिरीजवाफ तथा मोटरसाइकल स्लो रेश प्रतियोगिता गरिरएको थियो । ती प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्र, ट्रफी र नगदले सम्मान गरेको थियो । यसैगरी उत्कृष्ट कर्मचारी र उत्कृष्ट सेवा केन्द्रलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले सहकारीको कार्यक्षेत्र तीन वटा प्रदेश (गण्डकी, बागमती र लुम्बिनी) का तीन जिल्ला रहेको जानकारी दिनुभयो । विकूले नवलपुरको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयीत्रिवेणी गाउँपालिकामा गरी १९ वटा र चितवनमा चार वटा गरी जम्मा २३ वटा विभिन्न शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको सापकोटाको भनाइ छ ।

संस्थाका उपाध्यक्ष यमुनाथ आचार्यले विकूले सदस्यको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गर्भदेखि स्वर्गसम्मका कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । विसं २०४८ साल भदौ ५ गते तत्कालीन विजय युवा क्लबको सक्रियतामा दैनिक ५० पैसा सङ्कलन गर्दै २६ जना सदस्यहरु मिलेर संस्थाको स्थापना गरेका थिए । हालसम्म संस्थामा करिब एक लाख १० हजार भन्दा बढी सेयर सदस्य पुगेका आचार्यले जानकारी दिनुभयो ।

संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले विकूले ३१ वर्षको अवधिमा करिब रु ९० करोड ९४ लाख शेयर पुँजी, रु ७८ करोड ६६ लाख जगेडा तथा कोषहरु, रु सात अर्ब दुई करोड ४७ लाख बचत सङ्कलन, रु सात अर्ब २० करोड ६१ लाख ऋण लगानी र रु नौ अर्ब तीन करोड ३४ लाख कुल सम्पत्ति जोड्न सफल भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>