चितवन विशेष

भरतपुरको उत्पादनमा वृद्धि गर्ने नीति लिएका छौः मेयर दाहाल

Banner

चितवन, असार २५–

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरको उत्पादनमा वृद्धि गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ ।

यस अघिको कार्यकालमा सडक पूर्वाधारलाई मुख्य प्रथामिकता दिइएको भएपनि अहिले उत्पादनलाई प्रथामिकता दिएको मेयर दाहालको भनाई थियो । ‘उत्पादनमा पनि कृषि उत्पादनलाई प्रथामिकता दिएका छौ, त्यसका लागि आवश्यक पूर्वाधारहरु निर्माणको क्रममा रहेको छ’–मेयर दाहालले भन्नुभयो ।

चितवन चनौली शीत भण्डार सहकारी संस्था भरतपुर–१८ ले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
कृषि उत्पादन वृद्धि गर्न विभिन्न यन्त्र उपकरणमा अनुदान, सिंचाईका लागि डिबोरिङ, स्यालो टुबलेल, नारायणी लिफ्ट सिंचाईको नयाँ उपकरण खरिद, खगेरी सिंचाईहरु निर्माण भएको मेयर दाहालले बताउनुभयो ।

‘भरतपुर धेरै उत्पादनमा आत्मनिर्भर छ, उहाँले भन्नुभयो,‘ अब बेमौसमी कृषि उत्पादन गर्न सिंचाईको महत्वपूर्ण भूमिका रहन्छ । उत्पादनलाई वृद्धि गर्न विगत ५ वर्षदेखि दूधमा अनुदान दिदै आएका छौ । अन्य उत्पादनमा पनि वृद्धि गर्न महानगरपालिका सकारात्मक रहेको छ ।’

महानगरपालिका थोरै लागतमा धेरै उत्पादन गर्न पहिलादेखि नै विभिन्न यन्त्र उपकरणको प्रयोग गर्न कृषकलाई प्रोत्सहान गर्दै आएको मेयर दाहालले बताउनुभयो ।
एउटा महानगरपालिकामा एक शीत भण्डार हुँदै पर्ने नियम छ, उहाँले भन्नुभयो,‘कृषकहरुले नै लगानी गरेर निर्माण गर्नु भएको छ, यो स्वागत योग्य छ । यसको प्रवद्र्धनको लागि महानगरपालिका सधै तयार छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले शीत भण्डारको माध्यमबाट कृषिमा आउने रूपान्तरणमा हातेमालो गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा वाग्मती प्रदेश कृषि मन्त्रालयका प्रवक्ता झलकनाथ कँडेल, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजन गौतम, वडा नं १८ अध्यक्ष बाबुराम राना, वडा नम्बर ३ का अध्यक्ष विकास थापा, सेयर सदस्य नरहरि घिमिरे लगायतले बोल्नु भएको थियो ।

यसैबीच भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवन चनौली शीत भण्डारको अवलोकन गर्नु भएको छ । मेयर दाहालले शीत भण्डारले गर्दै आइरहेको काम कारबाहीको बारेमा जानकारी लिनु भएको थियो ।

गत चैतबाट पूर्ण रुपमा सञ्चालनमा आएको भण्डारले विभिन्न खाद्ययन्न र तरकारीहरु भण्डारणको काम सुरु गरिसकेको छ ।
शीत भण्डार निर्माणका लागि रु २० करोड रुपैयाँ खर्च भइसकेको छ । दुई वटा चेम्बर निर्माण गरी व्यवसायीक र सेयर सदस्यका लागि भण्डारणको व्यवस्था मिलाइएको छ ।

भण्डार निर्माणका लागि संघिय सरकारको सहकारी मन्त्रालय अन्तरगतको सहकारी विभागबाट रु ५ करोड ८१ लाख, वागतमती प्रदेशबाट रु ५७ लाख ९१ हजार, भरतपुर महानगरपालिकाबाट रु ४ लाख ८२ हजार र नक्सा पास गर्न ९ लाख ३४ हजार सौजन्य भएको संस्थाका अध्यक्ष सूर्यमणि पौडेलले बताउनुभयो ।

यस्तै सेयर सदस्यबाट रु ८ करोड ६२ लाख संकलन गरिएको छ । शीत भण्डारमा सदस्य हुनका लागि न्युनतम रु १ लाख तोकिएको छ । ७ कठ्ठा क्षेत्रफलमा फैलिएको शीत भण्डारमा क्षमताको ६० प्रतिशत खाद्ययन्न भण्डार गरिएको संस्थाले जनाएको छ । यहाँ आलु, चना, मकै, गाजर लयातका खाद्ययन्न भण्डार गरिएको छ । एक सिजन भण्डार गर्न प्रतिकिलो साढे ५ देखि साढे ६ रुपैयाँ मूल्य तिर्नुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>