खेलकुद

खेलाडी र प्रशिक्षकको एक अर्कालाई दोष लगाउने काम कहिले टुङ्गो लाग्ला

Banner

काठमाडौं, २० वैशाख-

देशभर अहिले स्थानीय तहको निर्वाचन चटारो छ । नेता कार्यकर्ता मत माग्न व्यस्त छन्, मतदाता आगामी पाँच वर्षका लागि योग्य जनप्रतिनिधि चुन्ने योजनामा छन् ।फुटबलवृत्तमा भने एउटा गम्भीर र संवेदनशील विवादले चुनावी माहोललाई पनि छायामा पारेको छ । अखिल नेपाल फुटबल संघ एन्फा आफैं पनि चुनावी चटारोमा छ ।

राष्ट्रिय टोलीको ड्रेसिङरुममा प्रमुख प्रशिक्षक र खेलाडीबीचको विवादको असर चुनावी रणनीतिमै पर्न थालेको छ । एन्फाकै एउटा पक्षले तत्काल कार्यसमिति वैठक बोलाउन माग गरेको छ । प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १० खेलाडीलाई बन्द प्रशिक्षण छाडेर निस्कन बाध्य पारेपछि सुरु भएको खेलाडी–प्रशिक्षक विवादले एक साता छोएको छ, तर यसमा अहिलेसम्म कुनै निकास निस्किएको छैन । दिनदिनै नयाँ–नयाँ घटनाक्रम थपिँदो क्रममा छन् ।

अहिले खेलाडीले प्रशिक्षकलाई दोष लगाउने अनि प्रशिक्षकले खेलाडीलाई दोष लगाउने काम भइरहेको छ । अविभावक संस्थाले समस्या समाधानका लागि ठोष कदम चाल्न नसकेको गुनासो खेलाडीहरुले नै गर्न थालेका छन् । एन्फा पदाधिकारीहरु अनौपचारिक कुराकानीमा टिम व्यवस्थापनको पक्षमा हस्तक्षेप गर्न खोजेको भन्दै प्रशिक्षकको आलोचना गर्छन् । तर, खेलाडीको पक्षमा सिधा खुल्न पनि सकिरहेका छैनन् । सायद यही सकसलै यो घटनाको निचोड निस्किएको छैन ।

१० खेलाडीले एकैपल्ट राष्ट्रिय टिमको प्रशिक्षण क्याम्प छाडेर हिँडेको नेपाली फुटबल इतिहासकै पहिलो घटना हो । पहिलो रोजाईँमा खेल्ने खेलाडीले नै क्याम्प छाड्नु चानचुने कुरा होइन । एन्फाले क्याम्प छोड्नुमा खेलाडीको कमजोरी देखेको छ, त्यसका लागि कसले र किन बाध्य पार्‍यो भन्नेबारे छानविनबाट पन्छिन खोजिरहेको छ ।

एन्फा आफैं अहिले चुनावी माहोलमा छ । आगामी असार ६ गते हुने चुनावका लागिको सबैजना व्यस्त छन् । नेपाली कांग्रेससम्बद्ध एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई स्थानीय तहको चुनावले पनि छोएको छ । विवाद समाधानको बैठकको बीचैमा उठेर स्थानीय चुनावको प्रचारमा लागेको आरोप शेर्पालाई लागेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>