खेलकुद

सुमितको ह्याट्रिकमा जुगेडीको सानदार जित

Banner

चितवन, वैशाख १९–

सुमित श्रेष्ठ एक्लैले पाँच गोल गरेपछि पाँचौ स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलमा एफसी भरतपुर–२९ जुगेडीले सानदार जित हात पारेको छ ।

आज (सोमबार) भएको पहिलो खेलमा जुगेडीले देवचुली ११ नवलपुरलाई ८–१ को फराकिलो अन्तरले पराजित गरेको हो । एकतर्फी खेलमा जुगेडीलाई जिताउन सुमितले पाँच गोलसँगै रन्जन पुनले २ तथा लक्ष्मण गुरुङले एक गोल गरे । देवचुलीका दीपिन रानाले एक गोल फर्काए ।

जुगेडीले देवचुलीको पोष्टमा पहिलो हाफमा नै चार गोल गरेको थियो । पहिलो हाफको २३ औं मिनेटमा सुमितले गोल गर्दै जुगेडीलाई सुरुवाती अग्रता दिलाए । २८ औं मिनेटमा रन्जनले जुगेडीको अग्रता दोब्बर बनाए ।

लगत्तै ३० औं मिनेटमा रन्जनले व्यक्तिगत दोस्रो गोल गरेपछि जुगेडीले ३(० को अग्रता लियो । ३३ औं मिनेटमा सुमितले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा जुगेडीले ४(० को अग्रता लियो ।

दोस्रो हाफमा जुगेडीले चार गोल थप्यो । दोस्रो हाफको १५ औं मिनेटमा सुमितले ह्याट्रिक पुरा गरे । २० औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गरेपछि जुगेडीले ६(० को अग्रता लियो । २७ औं मिनेटमा लक्ष्मणले गोल गर्दै जुगेडीलाई फराकिलो जिततर्फ डोहोर्‍याए । २९ औं मिनेटमा दीपिनले देवचुलीका लागि एक गोल फर्काए । ३० औं मिनेटमा सुमितले व्यक्तिगत पाँचौ गोल गरेपछि जुगेडी ८–१ ले विजयी भयो । सुमित नै म्यान अफ दि म्याच भए ।

यस्तै नारायणी मोटर्स युनिक क्लब बसेनी ‘बी’ र नयाँ बस्ती फुटबल ट्रेनिङ सेन्टरबीचको आजको दोस्रो खेल भने वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफ सकिएको अवस्थामा हावाहुरीसहितको भीषण वर्षाका कारण खेल स्थगित गरिएको आयोजक युनिक क्लबका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

पहिलो हाफसम्म दुबै टोली गोलरहित बराबारीको अवस्थामा थिए । बाँकी रहेको दोस्रो हाफको खेल मंगलबार दिउँसो १ बजे खेलाइने उनले बताए । सोमबार नै अन्य दुई खेल पनि हुनेछ । सोमबार दिउँसो २ बजे एफसी नौरङ्गे र युनिक क्लब ए’ तथा दिउँसो ४ बजे नारायणी एफसी र एफसी भरतपुर ९ भिड्नेछन् ।

युनिक क्लब बसेनीको आयोजनामा भरतपुर ११ कैलाश टोलमा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन(तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>