राजनीति

ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छः भूसाल

Banner

काठमाडौं, वैशाख ९-

नेकपा एमालेका नेता घनश्याम भूसालले स्थानीय तहको चुनावको छिनाझपटी र गाली-गलौजपूर्ण चहलपहल भन्दा माथि उठ्नु पर्ने बताएका छन् । शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर उनले मुलुकमा सबैभन्दा ठूलो, तेश्रो ठूलो, चौथो ठूलो, सातौँ र आठौँ ठूलो पार्टी सबै कम्युनिष्ट पार्टीहरु भएको र ती सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा एउटा विशाल कम्युनिष्ट बन्ने उताएका छन् । उनले। पद र पैसाका पेशेवर खोजीकर्ता आफूहरु अहिले कम्युनिष्ट पार्टीमा एउटा कित्ता नै भएको उनले उल्लेख गरेका छन् ।

पार्टीले राज्य शक्तिको अभ्यास गर्न थालेपछि आफूहरु पुराना पार्टीबाट क्रमशः यतातिर बसाईं सर्न थालेको उनको भनाइ छ । ुहामी आफ्नो उद्देश्यमा अरु सबैभन्दा स्पष्ट छौँः जहिलेसम्म यो पार्टीले राज्यशक्तिको अभ्यास गर्छ, त्यस दिनसम्म हामी यहाँ रहन्छौँ भन्ने कुरामा कसैले हामीमाथि शङ्का गर्नु व्यर्थ छ । कहिँ जान नपाएर हामी यहाँ आएका होइनौँ भन्ने कुरा पनि सबैलाई थाहा होस् । हामीले सजिलै औपचारिक हैसियत पाउन सक्ने कैयन् पार्टी यो मुलुकमा छन् । त्यस अर्थमा हामी यो पार्टीका बफादार सेवक हौँ, उनले भनेका छन् ।

कम्युनिष्ट पार्टी निर्माण गर्न समर्पित भएर लागेका, सत्ताको दमनमा संयोगले बाँचेका तर आफ्नो बुद्धिको करामतले अहिले समाज, राज्य र पार्टीमा चुनौतिहीन हैसियत बनाएका आफूहरु एमालेको निर्णायक कित्ता भएको उनको भनाइ छ ।

उनले आफूहरु कित्ता बिनाको अर्को कित्तामा पुर्‍याइएको उल्लेख गर्दै पछिल्लो समय पार्टीमा कुनै छलफल नहुने भन्दै असन्तुष्टि जनाएका छन् । कित्ता बिनाको अर्को कित्तका हामी अनौठो अवस्थामा छौँ । हामी क्रान्तिकै पक्षमा दृढ छौँ । तर, आजको क्रान्तिको बाटो के हो ? कसरी अगाडि बढ्छ ? कसले गर्छ ? त्यसका चुनौति के हुन् ? त्यसका लागि अवसरहरु के के हुन्जस्ता अनेकौँ प्रश्नमा हामीलाई द्विविधा हुन्छ । किनकि ती विषयमा आजकल कुनै छलफल नै हुँदैन, कसैले पढाउँदैन ।

उनले जनवादी केन्द्रीयता हुनु पर्ने भए पनि ठूला गुटले सबै थोक गरिरहेको देख्दा आफूहरुको मन खिन्न हुने गरेको उनले उल्लेख गरेका छन् ।

हामी चुनाव देखेर हुक्र्यौँ, चुनाव जित्दा क्रान्ति नजिक छ जस्तो लाग्छ । तर चुनावदेखि चुनावसम्म नै हो त क्रान्ति भन्ने पनि लाग्छ । तर हामीलाई जनवादी केन्द्रियताबारे सबैभन्दा बढि थाहा छः बहुमतको निर्णय सबैले मान्नु पर्छ, माथिको निर्णय सबैले मान्नु पर्छ । फेरि, यस्तो अकाट्य ठानिएको सूत्रले पनि क्रान्तिको समस्या समाधान नगरेको, मुलुक र पार्टीमा कचिङ्गल भैरहेको, गुटहरु लडिरहेको, ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छ । पार्टीलाई अप्ठेरो परेको बेला सडकमा निस्कने, पार्टीको निर्णय हो भनेपछि जे पनि गर्न तयार हुने हाम्रो कित्ता सबैभन्दा ठूलो छ,उनले लेखका छन् ।

भूसालले यस्तो लेखेका छन्

आज नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस हो । मुलुकमा सबैभन्दा ठूलो, तेश्रो ठूलो, चौथो ठूलो, सातौँ र आठौँ ठूलो पार्टी सबै कम्युनिष्ट पार्टीहरु हुन् । ती सबैलाई एकै ठाउँमा राखेर कल्पना गर्दा एउटा विशाल कम्युनिष्ट बन्छ । स्थानीय तहको चुनावको छिनाझपटी र गाली-गलौजपूर्ण चहलपहल भन्दा माथि उठेर कमरेड पुष्पलालको आँखाले समाजको वर्ग विश्लेषण गरेझैँ त्यस पार्टीको प्रवृत्ति विश्लेषण गर्ने हो भने हामी यस्तो पो देखिन्छौँ किः

१. पद र पैसाका पेशेवर खोजीकर्ता हामीहरु अहिले कम्युनिष्ट पार्टीमा एउटा कित्ता नै हौँ । यो पार्टीले राज्य शक्तिको अभ्यास गर्न थालेपछि हामी पुराना पार्टीबाट क्रमशः यतातिर बसाईं सर्न थालेका हौँ । अब त हाम्रो संख्या ठूलै भएको छ र वंशजकै रुपमा नयाँ खाइलाग्दा नौजवान सदस्यहरु पनि थपिँदैछौँ । फेरि, हामीसँग केहि खास खुबीहरु छन् जसले हामी एक्लैदुक्लै हुँदा पनि अरु धेरैजनाले गर्ने काम, कहिले कहिँ पुरै संसद वा पुरै पार्टीले गर्ने काम पनि फत्ते गराउन सक्छौँ । त्यसैले हामी एउटा शक्ति भैसकेका छौँ । कामले त कैयन् मुद्दामा हामी निर्णायक छौँ तर पार्टीको नामको कारणले हाम्रो औपचारिक पहिचान भने अझै कमजोर नै छ । हामी आफ्नो उद्देश्यमा अरु सबैभन्दा स्पष्ट छौँः जहिलेसम्म यो पार्टीले राज्यशक्तिको अभ्यास गर्छ, त्यस दिनसम्म हामी यहाँ रहन्छौँ भन्ने कुरामा कसैले हामीमाथि शङ्का गर्नु व्यर्थ छ । कहिँ जान नपाएर हामी यहाँ आएका होइनौँ भन्ने कुरा पनि सबैलाई थाहा होस् । हामीले सजिलै औपचारिक हैसियत पाउन सक्ने कैयन् पार्टी यो मुलुकमा छन् । त्यस अर्थमा हामी यो पार्टीका बफादार सेवक हौँ ।

२.कम्युनिष्ट पार्टी निर्माण गर्न समर्पित भएर लागेका, सत्ताको दमनमा संयोगले बाँचेका तर आफ्नो बुद्धिको करामतले अहिले समाज, राज्य र पार्टीमा चुनौतिहीन हैसियत बनाएका हामीहरु यो पार्टीको निर्णायक कित्ता हौँ । हामी क्रान्तिमा लागेर हुक्र्यौँ र आधुनिक राज्य, पार्टी र समाज कसरी चल्छ भन्ने सबै कुरा हामीलाई थाहा छ । हाम्रो सबैभन्दा ठूलो सामथ्र्य के हो भने हामीलाई पार्टी के हो ? क्रान्ति के हो ? माक्र्सवाद, लेनिनवाद, माओवाद, जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद, समाजवादजस्ता पारिभाषिक शब्दाबलीको व्याख्या कसरी गर्नु पर्छ ? सबै थाहा छ । अर्कातिर, मुद्रा, प्रविधि र व्यवस्थापनमा पारङ्गतहरुको सङ्गतले हामी पनि आधुनिक बजार व्यवस्थापक जत्तिकै ज्ञान राख्छौँ । यहि क्षमताले गर्दा हामीलाई अनगिन्ती क्रान्तिकारीहरुले आफुजस्तै ठान्छन् । त्यो उनीहरुको अज्ञानता होइन बरु पार्टीप्रतिको अटल आस्था हो । अर्कातर्फ, क्रान्तिमा लाग्दै गर्दा हामीले आधुनिक जीवन कसरी बाँच्नु पर्छ भन्ने थाहा पायौँ । यसक्रममा हामीसँगको हिमचीमले हाम्रो वरिपरी ठूलो सङ्ख्यामा मुद्रा, प्रविधि र व्यवस्थापनमा पारङ्गतहरुको पङ्ति तयार भएको छ । यसरी, ती क्रान्तिकारी कमरेडहरुले हाम्रालागि पार्टीमा सहमति तयार गर्छन् र नयाँ व्यवस्थापकहरुले त्यसको चाँजोपाँजो मिलाउँछन्, त्यस सहमतिको उपयोग कसरी गर्नु पर्छ भन्ने ध्यान दिन्छन् । अर्थात्, सबैलाई मिलाएर लैजान सक्ने हुनका कारणले हामीले कम्युनिष्ट पार्टीको रक्षा गरेका छौँ, समृद्धि र समाजवाद बचाएका छौँ । क्रान्तिले हाम्रो हैसियत नखोसोस् भन्ने मात्रै हाम्रो शर्त हो ।

३. कित्ता बिनाको अर्को कित्तका हामी अनौठो अवस्थामा छौँ । हामी क्रान्तिकै पक्षमा दृढ छौँ । तर, आजको क्रान्तिको बाटो के हो ? कसरी अगाडि बढ्छ ? कसले गर्छ ? त्यसका चुनौति के हुन् ? त्यसका लागि अवसरहरु के के हुन्जस्ता अनेकौँ प्रश्नमा हामीलाई द्विविधा हुन्छ । किनकि ती विषयमा आजकल कुनै छलफल नै हुँदैन, कसैले पढाउँदैन । हामी चुनाव देखेर हुक्र्यौँ, चुनाव जित्दा क्रान्ति नजिक छ जस्तो लाग्छ । तर चुनावदेखि चुनावसम्म नै हो त क्रान्ति भन्ने पनि लाग्छ । तर हामीलाई जनवादी केन्द्रियताबारे सबैभन्दा बढि थाहा छः बहुमतको निर्णय सबैले मान्नु पर्छ, माथिको निर्णय सबैले मान्नु पर्छ । फेरि, यस्तो अकाट्य ठानिएको सूत्रले पनि क्रान्तिको समस्या समाधान नगरेको, मुलुक र पार्टीमा कचिङ्गल भैरहेको, गुटहरु लडिरहेको, ठूला गुटले सबै थोक गरिरहेको देख्दा हाम्रो मन खिन्न हुन्छ । पार्टीलाई अप्ठेरो परेको बेला सडकमा निस्कने, पार्टीको निर्णय हो भनेपछि जे पनि गर्न तयार हुने हाम्रो कित्ता सबैभन्दा ठूलो छ ।

४. हिजो जनता, श्रमजीवी वर्ग, माक्र्सवाद, क्रान्ति, जनवाद, समाजवादजस्ता शब्दहरुमा जीवनको मूल्य देखेर, तिनकै सपनाले आन्दोलनमा लागेका तर व्यक्ति, सत्ताभोग, अवसर, चाकरीको चकचकीबाट पनि ब्युँझन नसकेका हामीहरुको पनि एउटा कित्ता छ ।माक्र्सवादका पुराना सिद्धान्तको रट लगाउने, आधुनिक प्रविधिको कखरा नै नबुझ्ने, युग कहाँ पुगिसक्यो विचारको गफ गर्ने, काम नगर्ने बरु छलफलमात्रै गर्न खोज्ने, राजनीति भनेको कार्यकर्ता संरक्षण हो भन्नेजस्तो सामान्य तथ्यबाट पनि वेखबर अव्यावहारिक भनेर हामीलाई विरोध गरिन्छ । हुन पनि, आफ्नो पार्टी सदस्यताको सपथ—पत्रलाई अवसरका प्रतिमा अगाडि समर्पित गर्दा शान र शक्तिको आकासमा पुगेका कैयन् उदाहरण देख्दादेख्दै त्यसो गर्न नसकेकाहरु यस कित्तामा पर्छौँ । क्रान्तिबारे हामीलाई सबै कुरा थाहा छैन तर त्यो कसरी थाहा हुन्छ भन्ने चाहिँ थाहा छ । तर, इतिहास र सिद्धान्तका आधारमा हामीले निकालेको निष्कर्ष र सङ्कल्प के छ भने लोभ र डरले क्रान्तिकारी कित्ताको आफ्नो ठाउँ छोड्नु हुँदैन ।

पुनश्चः को कुन कित्तामा छ भन्ने हामी सबैलाई थाहा छ तर हामी त्यसबारे चर्चा गर्दैनौँ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>