Breaking News

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्छ, अन्य पालिकामा तालमेल हुन्छः सभापति खनाल (अन्तर्वार्ता)

Banner

कुलप्रसाद काफ्ले

चितवन, चैत २१–

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले आफ्नो दाबी गर्दै आएका छन् । जिल्लामा चुनावी तालमेल गर्ने विषयमा चितवन कांग्रेसका सभापति राजेश्वर खनालको संयोजनमा सोमबार पहिलो पटक गठबन्धनको बैठक बसेको छ । बैठकमा भएको छलफल र कांग्रेसको अडानको विषयमा खनालसँग न्युज कारखानाका लागि कुलप्रसाद काफ्लेले गरेको छ।

 

१. भरतपुर महानगरको मेयरको उमेदवारमा कांग्रेसको दाबी किन हो ?

कुनै पनि वस्तु एक किलो पुर्‍याउन छ भने एक पाउ थप्न सजिलो हुन्छ तीन पाउ होइन । त्यो भनेको के भने कांग्रेसलाई माओवादीले मत हाल्दा जित्ने सम्भावना बढी छ । माओवादीलाई कांग्रेसले मत हाल्दा जित्ने सम्भावना कम छ । हामीसँग जम्मा मतको ८० प्रतिशत मत छ । उहाँहरुसँग २० प्रतिशत मात्रै छ ।
पहिलाको पर्म पनि तिर्नु प¥यो नि । १० हजार मत भएको माओवादीलाई ४० हजार मत भएको कांग्रेसले मत हालिदिएर । अझ त्यतिले पनि नपुगेर च्यातचुत पारेर जितेको होइन ? त्यसकारण यसपालि महानगरको मेयरको उमेदवार कांग्रेसबाट हुनुपर्छ भनेका छौँ ।

२. गठबन्धनको बैठकमा के–के कुरा भए ?

जिल्लामा संयोजनका लागि मलाई नै संयोजक तोकेर परिपत्र आएको छ । त्यसकारण मैले नै संयोजन गरेर मेरै पार्टी कार्यालयमा गठबन्धनको बैठक राखे । मैले हाम्रो पार्टीका निर्णय उहाँहरुलाई सुनाएँ । मैले बैठकमा आउँदा आफ्नो पार्टीको निर्णयसहित आउँछु भनेको थिए । यहि हिसाबले हामी अगाडि बढ्ने मनसायमा छौँ । हामीसँग धेरै पदहरु छन् । सात पालिकामा प्रमुख र उपप्रमुखगर्दा १४ पद, ९८ वटा वडा छन् । जिल्ला समन्वय समिति छ । यसरी सबै तिर तालमेल गरेर अघि बढौँ भन्ने कुरा राखेँ । उहाँहरुले पनि ठिक छ कुरा राखौँ, छलफल गर्दै अगाडि बढौँ । नमिलेका कुरा मिलाउँदै जाऔँ भन्नुभयो ।

३. भनेपछि महानगरको प्रमुख कांग्रेसले पाउनुपर्छ भनेर स्पष्ट रुपमा भन्नुभयो ?

हाम्रो बटम लाइन नै यहि हो । आइतबार मात्रै मैले मेरो नेपाली कांग्रेसको जिल्ला कार्यसमिति बैठक सम्पन्न गरेँ । त्यो बैठकमा केन्द्रबाट गठबन्धनका दलबीच भएको सहमति अनुसार जुन परिपत्र आएको छ । त्यो परिपत्रका आधारमा जिल्लामा रहेका गठबन्धनका दलहरुबीच तालमेल गरेर अघि बढ्ने निर्णय ग¥यौँ । दोस्रो निर्णयमा नेपाली कांग्रेसको बटमलाइन के हो त भन्दा महानगरको मेयर पद नछाड्ने भन्ने थियो । त्यहि निर्णय अनुसार आज गठबन्धनको बैठकका उपस्थित भएको भनेर बताएँ ।

४. महानगरको मेयरको उमेदवार छान्ने त केन्द्रबाटै हो । जिल्लाको निर्णय विपरित केन्द्रबाट अर्को निर्णय भयो भने त मान्नुपर्ने होला नि ?

मलाई के विश्वास छ भने मैले केन्द्रीय सभापतिलाई कन्भिन्स गराउँछु । यहाँ पाँच जना केन्द्रीय सदस्य हुनुहुन्छ । पाँच/छ जना पूर्व सभापति हुनुहुन्छ, माननिय, पूर्वमाननियहरु हुनुहुन्छ । उहाँहरुको बीचमा म जिल्ला सभापति छु । शेरबहादुर देउवा हाम्रो नेता, हाम्रो सभापति हुनुहुन्छ । हामी सबैले हाम्रो सभापतिलाई कन्भिन्स गराउँछौँ ।

५.भरतपुरको मेयरको उमेदवारमा कुरा मिलेन भने त गठबन्धन टुट्ने होला नि ?

भरतपुरमा माओवादीलाई हामीले मेयर दिएनौँ भने गठबन्धन टुट्न सक्छ । चुनाव जित्यो भने त ठिक छ । हार्‍यो भने पनि त फेरि गठबन्धन टुट्ने होला नि । त्यहि भएर यस्तो धराप गठबन्धन नगर्दा नै ठिक हुन्छ । एकल निर्वाचनमा जाऔँ । संगैबस्दा सम्बन्ध नराम्रो हुन्छ भने त फरक–फरक बस्दा नै ठिक हुन्छ नि ।

६.एकल निर्वाचनमा जाँदा एमालेले जित्ने होला नि । तपाइहरु यसमा के देख्नुहुन्छ ?

२०७४ मा पार्टीगत गठबन्धन थिएन । हो, हामीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई मतदान ग¥यौँ । तर त्यतिबेला संस्थागत गठबन्धन थिएन । व्यक्तिगत गठबन्धन थियो । माओवादीले हामीलाई कहाँ मत हाल्यो त ? वडामा हाम्रो आफ्नै खाले प्रतिस्पर्धा थियो । अन्य पालिकामा उहाँहरुसँगै हाम्रो प्रतिस्पर्धा थियो । कतिपय वडामा उहाँहरुसँग हामी हारेका पनि छौँ । त्यसकारण त्यतिबेला गठबन्धन थिएन केबल पुष्पकमल दाहालको छोरी भएको हुँदा नेपाली कांग्रेसले सत्ता समिकरणका बीचमा एकल सहयोग गर्‍यौँ ।

७.अघिल्लो चुनावमा कांग्रेसका उमेदवार दिनेश कोइरालाको उमेदवारी केन्द्रबाट फिर्ता लिइएको थियो । अहिले पनि त्यहि अवस्था आउन सक्ने सम्भावना कति छ ?

यो के भने । एक पटक भइसकेको पनि भएकाले ‘अगुल्टोले हान्दा तर्सेको कुकुर विजुली चम्कदा पनि तर्सन्छ’ भने जस्तै हो । त्यतिखेर समय कम थियो, त्यसलाई व्यवस्थापन गर्न सकिएन होला । अहिले समय प्रशस्त छ । सबै कुराको जानकारी पनि छ । त्यस्तो हुँदैन । एमाले र माओवादीको गठबन्धन भए मात्रै एकल निर्वाचनमा कांग्रेसलाई गाह्रो हो ।

निर्वाचनका बेला नेताहरुले जनतालाई असीमित सपना देखाउने र जितिसकेपछि न्युनतम कुराहरु पनि पुरा नगर्ने प्रवृत्ति छ । त्यसोभा हुनाले २०४८ मा हामिले जित्यौँ २०५१ मा हा¥यौँ । २०५६ मा जित्यौँ २०६४ मा हार्‍यौँ । २०७० मा जित्यौँ २०७४ मा हा¥यौँ । अब २०७९ मा जित्ने पालो हाम्रो हो ।

८.महानगरको मेयर कांग्रेसले नै पाउनुपर्छ भनेर अडान चाँहि किन लिनुभएको हो ?

एउटा कुरा के बुझ्न जरुरी छ भने । हाम्रो छुट्टै पार्टी हो । हामिले छुट्टै मूल्यमान्यता राख्छौँ । एउटा कार्यकालमा हामिले कार्यगत एकता गरेको होला । कार्यगत एकता गर्दै गर्दा त्यो बाटो सबैभन्दा पहिला उहाँहरुले छाड्नुभएको हो । हामिले होइन । त्यस कारण यसपटक उहाँहरुले हामिलाई पर्म तिर्नुपर्छ । गठबन्धन भनेको एक अर्कामा सहयोगको आदान प्रदान हो । आलोपालो हो । अहिले हामिले पाउनुपर्छ ।

उहाँले पाँच वर्षमा गरेको कामको मूल्यांकन कांग्रेसले जुन हिसाबले गरेको छ । उहाँले गरेको कामबाट हामि सन्तुष्ट भएको भए त हामिले कतिपय कुरामा सहमति गर्न सक्थ्यौँ होला नि त । कार्यकर्तामाझ रुख चिह्न लिएर जान नसक्ने स्थिती पनि छ । त्यस्तो सिनारियो पनि बन्दै छ । त्यसकारण पनि यो हामिलाई महत्वपूर्ण छ । एउटा मान्छेलाई जनताले पाँच वर्षका लागि अवसर दिए । त्यहि मान्छेलाई पटक–पटक अवसर दिदैनौँ ।

–न्युज कारखाना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>