खेलकुद

महिला लिगः पुलिस र विराटनगरको सहज जित

Banner

चितवन, चैत २०–

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहज जित हात पारेको छ । आज (आइतबार) भएको पहिलो खेलमा पुलिसले वालिङलाई ३–१ ले पराजित गरेको हो ।

पुलिसका लागि निर्मला विकले २ गोल गरिन् भने अर्को एक गोल अमृता जैशीले गरिन् । वालिङकी सुश्मा जिटीले एक गोल फर्काइन् ।
तुलनात्मक रुपमा कमजोर वालिङविरुद्ध पुलिसले दोस्रो मिनेटमा नै अग्रता लियो । पुलिसका लागि निर्मला विकले पहिलो गोल गरिन् ।

३३ औं मिनेटमा निर्मलाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा पुलिसले २–० को अग्रता लियो । ६८ औं मिनेटमा वालिङकी सुश्माले गोल फर्काईन् । ८१ औं मिनेटमा अमृताले फ्री किकमा गोल गरेपछि पुलिस ३–१ ले विजयी भयो । अमृता नै खेलको प्लेयर अफ दि म्याच भईन् ।

यो जितपछि पुलिसको चार खेलबाट ९ अंक भएको छ । समान खेल खेलेको वालिङ अंकबिहिन छ । वालिङ खेलेका चारै खेलमा पराजित भएको छ ।

आजको दोस्रो खेलमा विराटनगरले ललितपुरलाई ५–१ ले पराजित गरेको छ । विराटनगरलाई जिताउन इमा राई, मनिषा थापा मगर, सन्दीपा भोलोन, अस्मिता चौधरी र मिना खातुनले समान एक–एक गोल गरे । ललितपुरकी कप्तान सृजना सिंहले एक गोल फर्काईन् ।
विराटनगरले खेलको सातौं मिनेटमा अग्रता लिएको थियो । मिडफिल्डर इमाले फ्री किकमा सुन्दर गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिईन् । ३५ औं मिनेटमा मनिषाले विराटनगरनगरलाई दोहोरो अग्रता दिलाईन् । उनले कर्नरमा सुन्दर हेडर गोल गरिन् ।

दोस्रो हाफ सुरू भए लगत्तै ललितपुरले गोल फर्कायो । ४७ औं मिनेटमा कप्तान सृजनाले एकल प्रयासमा सुन्दर गोल गर्दै ललितपुरलाई खेलमा फर्काउने संकेत गरेकी थिईन् ।

तर ५६औं मिनेटमा सन्दीपाले गोल गर्दै विराटनगरलाई ३–१ को अग्रता दिलाईन् । ७९ औं मिनेटमा अस्मिताले डिबक्स बाहिरबाट सुन्दर गोल गर्दै गर्दै विराटनगरको अग्रता ४–१ मा पु¥याईन् । ८७ औं मिनेटमा मिना खातुनले गोल गरेपछि विराटनगर ५–१ ले विजयी भयो । खेलको प्लेयर अफ दि म्याच विराटनगरकी अस्मिता चौधरी भईन् ।

यो जितसंगै विराटनगर त्रिभुवन आर्मी फुटबल क्लबलाई उछिन्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगरको ४ खेलबाट ७ अंक भएको छ । समान खेलबाट ६ अंक भएको आर्मी पाँचौ स्थानमा झरेको छ । उता आज पराजित ललितपुर ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा यथावत छ ।

लिगमा मंगलबार दुई खेल हुनेछ । मंगलबार पहिलो खेल दिउँसो १ः१५ बजे वालिङ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ः१५ बजे ललितपुर र एपिएफबीच हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>