राजनीति
एमसिसी राष्ट्रको हितमा छ,भ्रम छर्ने काम नगरौँःप्रधानमन्त्री देउवा

नुवाकोट,फागुन ३०-
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसिसी राष्ट्रको हितमा भएको बताउनुभएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न पेस गरेकाले अहिले त्यसैलाई अघि बढाएको बताउनुभयो ।
“एमसिसीलाई एमालेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री भीम रावलले मन्त्रिपरिषद्को सिफारिसमा संसद्बाट पास गराउन पेस गर्नुभएको हो”, प्रधानमन्त्री देउवाले सांसद भीम रावलप्रति टिप्पणी गर्दै भन्नुभयो, “एमसिसी राष्ट्रघाती भन्दै हिँड्ने उहाँ (रावल) रक्षामन्त्री हुँदा अनुमोदनका लागि संसद्मा लैजान हस्ताक्षर गर्ने अनि अहिले विरोध गर्दै हिँड्नेले त्यो समयमा किन राजीनामा नदिएको ?”
सरकारमा हुँदा एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्नुपर्छ भनेर लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेर दोहोरो चरित्र नदेखाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । उहाँले एमसिसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले ऋण जतिपनि लिनुपर्ने, यस (एमसिसी)को त ब्याजसमेत तिर्नु नपर्ने भएकाले यो राष्ट्रको हितमा छ, अहित केही पनि गर्दैन भन्नुभयो ।


























