राजनीति
एमसिसीकै कारण सरकार छाड्नुपर्दैनःएकीकृत समाजवादी

काठमाडौं,फागुन १०-
सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास भए पनि फेल भए पनि सरकारबाट बाहिरिनुनपर्ने निष्कर्ष निकालेको छ।
एमसिसीको विषयमा पार्टीभित्र विवाद भएपछि आधिकारिक धारणा बनाउन सोमबार केन्द्रीय सचिवालय बैठक बसेको थियो। बैठकले एमसिसीबारे पार्टीमा फरक धारणा आए पनि यसले सत्ता गठबन्धनलाई केही फरक नपर्ने र सरकार छाड्नुनपर्ने निष्कर्ष निकालेको हो ।
एमसिसीबारे हरेक दलको एउटै धारणा हुन नसक्ने र प्रत्येक दलको बेग्लाबेग्लै निष्कर्ष हुने भएकाले सत्ता गठबन्धनमा खास असर नपर्ने धारणा पार्टीले बनाएको महासचिव वेदुराम भुसालले बताए। ‘एमसिसीकै कारण सरकार छाड्नुपर्ने अवस्था आउँछ भन्ने मलाई लाग्दैन। यो विषयमा हरेक पार्टीका आफ्नै धारणाहरू हुन्छन्। उनीहरूले फरक मत राख्न पाउँछन्। यो अभ्यास अन्य मुलुकमा पनि छ। त्यसकारण सरकार छाड्नुपर्ने अवस्था हुँदैन,’ उनले भने।
‘सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट फेल भए मात्र सरकारबाट बाहिरिने अवस्था आउँछ’ उनले भने। भुसालले सोमबार पार्टी कार्यालय बसेको केन्द्रीय सचिवालय बैठकले संसद्मा एमसिसीबारे निर्णय लिँदा विपक्षमा उभिने निर्णय गरेको जानकारी पनि दिए।
त्यसैगरी पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले पनि सरकार तलमाथि हुन्छ भन्ने नलागेको बताए।
























