चितवन विशेष
चितवनमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न

चितवन, फागुन ८ –
चितवनमा पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी विस्तृत अध्ययन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
राष्ट्रिय योजना आयोग, प्रदेश निति तथा योजना आयोग र जिल्ला समन्वय समिति चितवनको समन्वय एवम् संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमको सहकार्यमा आज जिससको सभाहलमा कार्यशाशा गोष्ठी सम्पन्न भएको हो ।
कार्यशाखा गोष्ठीमा संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम बागमती प्रदेशका संयोजक राजु क्षेत्रीले पुनरुत्थानशिलता विश्लेषण तथा जीविकोपार्जन सम्बन्धी प्रशिक्षण गराएका थिए । उनले जलवायु परिवर्तनको असर र जीविकोपार्जनमा ल्याएको समस्याका बारेमा जानकारी गराएका थिए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भोकमरीको अन्त्य, खाद्य सुरक्षा, पोषणमा सुधार र दिगो कृषि प्रवद्र्धन जस्ता दिगो विकासका लक्ष्यहरू हासिल गर्न स्थानीय तहको सकृयता आवश्यक रहेको बताए । उनले आइपर्ने विपतको सामना गर्न र आफ्नो पालीकाको उत्पादन वृद्धिमा स्थानीय तहले नीति निर्माण गर्दा विशेष ध्यान दिन जरुरी रहेको बताए ।
डल्लाकोटीले जलवायु परिर्वतन हुनुमा औद्योगिक राष्ट्रहरु जिम्मेवार रहेको बताए । उनले मानिसले दैनिक प्रयोग गर्ने सवारी साधन, उपकरण, फ्रिज, एसी, हिटरले पनि जलवायु परिवर्तन गराइरहेको बताउँदै मानिसले यी कुरा छाड्न नसक्ने भएकाले जलवायु परिवर्तनको न्यूनिकरणमा हदैसम्मको उपाय अपाउनुपर्ने बताए ।

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले जलवायु परिवर्तनका कारण किसानहरु बढी मर्कामा परिरहेको बताइन् । उनले भनिन्, ‘धान रोप्ने बेलामा पानी पर्दैन । धान थन्काउने बेलामा पानी पर्छ । धान डुबानमा पर्छ ।’ जलवायु परिवर्तनका कारण कृषि उपज कम हुँदै गएको उनले बताइन् । उनले जहाँ जे फल्छ त्यहाँ त्यही खाने बानी नभएको बताइन् । भात खान नपाए भोकमरी छ, खाद्यान्न अभाव भयो भन्ने चलन भएको बताउँदै उनले यो दुखःद कुरा भएको बताइन् । जहाँ जे फल्छ त्यसलाई त्यहाँको मुख्य खाद्यान्न बाली बनाउन सके, यसप्रति जनतालाई सूचित गर्न सके भोकमरीको अन्त्य हुने उनको धारणा छ ।

बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले जलवायु परिवर्तन विश्वव्यापी चुनौतीको विषय भएको बताउँदै यसलाई न्यूनिकरण गर्न प्रत्येक स्थानीय तहले भूमिका खेल्नु पर्ने बताए । नेपाललाई दिगो विकासको लक्ष्य हासिल गराउन भोकमरी अन्त्य गराउन आवश्यक रहेको बताउँदै पन्तले जलवायु परिवर्तनले उत्पादनमा ल्याएको कमीलाई हटाउन आआफ्नो क्षेत्रबाट भूमिका खेल्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवन, चितवनका स्थानीय तह, प्रधानमन्त्री कृषि आधुनिकीकरण, कृषि ज्ञान केन्द्र, स्थानीय तहका कृषि शाखाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।



























