चितवन विशेष

चितवन र नवलपुरका प्रधानाध्यापकहरुसँग सप्तगण्डकी क्याम्पसको अन्तरक्रिया

Banner

पूजा ढकाल

चितवन, फागुन ७–

सप्तगण्डकी बहुमुखी क्याम्पसले क्याम्पसमा सञ्चालित विभिन्न शैक्षीक विषय र शैक्षिक गुणस्तरियताबारे विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको छ ।

क्याम्पसका प्रमुख मणिराज महतोको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसले सञ्चालन गरिरहेका पुराना र नयाँ विषयको बारेमा चितवन र नवलपुरका विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेको हो ।

त्यस्तै त्रिभूवन विश्वविद्ययालयका बीएड विज्ञान विषयका प्राध्यापक डा. कमलप्रसाद आचार्यले अझै हाम्रो देशमा विज्ञान शिक्षकका लागि ४२ प्रतिशत लाइसेन्स शिक्षकको लागि कोटा खाली रहेको र पीएचडीमा १०० प्रतिशत छात्रवृद्धिमा पनि यो विषय पढ्न मिल्ने बताए । अन्तरक्रियामा उनले एक शिक्षकले पढाउँदा कसरी पढाउने र किन पढाउने भन्ने ध्यान राख्नु पर्ने बताए । उनले भने, ‘ अबको शिक्षण विधिमा शिक्षकले विद्यार्थीलाई उत्प्रेरित गर्दै विद्यार्थी केन्द्रित भएर पढाउनुपर्छ । विश्वभर शिक्षाको डाइमेन्सनमा परिवर्तन आएको छ ।’ त्यसैगरी उनले स्नातक तहमा शिक्षाशास्त्रमा पढाइ हुने विभिन्न विषय र पाढ्यभारको बारेमा जानकारी दिए ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष तथा शिक्षाविद् रमाकान्त साप्कोटाले विज्ञानलाई विद्यार्थी तथा अभिभावकले कठिन विषयको रुपमा लिने गरेकोले अहिले देशमा ११\१२ मा १५ प्रतिशत भन्दा कम विद्यार्थी विज्ञान विषय अध्ययनरत रहेको जानकारी दिए । चितवनका सात सामुदायिक तथा १६\१७ वटा निजी विद्यालयमा ११\१२ मा विज्ञान अध्ययन हुँदै आएको उनले बताए । उनले भने, ‘देशको योजनामा ७० प्रतिशत विज्ञान तथा प्रविधिमा आधारित जनशक्ति उत्पादन गर्ने भनिए पनि विज्ञान शिक्षामा विद्यार्थीहरुको संख्या भने त्यो योजनालाई भेट्ने प्रकारको छैन ।’ जीवनमा सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चल्ने भएकोले क्याम्पसलाई गुणस्तरीय बनाउँदै विज्ञान शिक्षालाई अगाडि बढाउनु पर्ने उनको धारणा छ ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख खिम दाहालले स्वागत मन्तव्य राखेको उक्त अन्तक्रिया कार्यक्रममा क्याम्पसका वतावरण विज्ञानका प्रध्यापक ध्रुर्व आचार्यले स्नातक तहमा सामान्य विज्ञान र वातावरण विज्ञानको विषयको महत्व र सम्भावनाको बारेमा जानकारी गराए । कार्यक्रममा सप्तगण्डकी बहुमुखी क्याम्पस एमएड कार्यक्रम प्रमुख गोविन्दप्रसाद पराजुलीले क्याम्पसको विभिन्न तहमा हुने अभ्यास शिक्षणको बारेमा अवगत गराएका थिए । त्यसैगरी कार्यक्रममा क्याम्पसका व्यवस्थापन विभागका प्रमुख कपिलदेव सुवेदीले व्यवस्थापन संकायतर्फ बीबीए, बीआईएम जस्ता सेमेस्टरमा आधारित कार्यक्रमहरुबारे जानकारी गराए ।

त्यस्तै अन्तक्रिया कार्यक्रममा भिमोदय मावि पदमपुरका प्रधानाध्यापक डा हरि कँडेल, नारायणी पब्लिक कलेजका संयोजक जनकराज घिमिरे, गैँडाकोट नमुना माविका प्रधानाध्यापक चन्द्रबहादुर केसी, जानकी माविका प्रधानाध्यापक दुग्र्रासाद सापकोटाले क्याम्पसको शैक्षिक अवस्थाबारे विभिन्न प्रश्न गरेका थिए । उनीहरुले कार्यक्रममा सप्तगण्डकीले शिक्षा संकायमा विज्ञान विषयको पढाइ गर्न लागेकोमा खुसी तथा शुभकामना व्यक्त गर्दै आफ्नो विद्यालयबाट पनि विद्यार्थी क्याम्पसमा पढाउने प्रतिबद्धता व्यक्त गरे ।

क्याम्पसले अन्य निजी विद्ययालयले भन्दा सस्तोमा गुणस्तर शिक्षा दिँदा गरिब विद्यार्थीलाई उच्च शिक्षा लिन सहयोग हुने उनीहरुको विचार थियो । त्यस्तै उनीहरुले ११\१२ पछि उच्च शिक्षा तथा रोजगारीको लागि किशोर किशोरी विदेश जाने गरेकोले देशमा नै अध्ययनसँगै रोजगारीको ग्यारेन्टी गर्ने तर्फ सरोकारवालाहरुको ध्यान आकर्षित गराए । कोरोनाको समयमा विद्यालय आफैँले नतिजा प्रकाशन गर्दा र न्यून ग्रेड ल्याएकाले पढ्ने विषयको रुपमा शिक्षा संकायलाई हेर्दा देशमा शिक्षा पढ्ने विद्यार्थीको संख्या कम भएको उनीहरुको विचार छ । कार्यक्रममा सप्तगण्डकी क्याम्पसमा शिक्षक नियुक्ति र दैनिक पढनपाठनमा बढी राजनीति हुने गरेको भन्दै आफूहरुको विद्यालयबाट आएका विद्यार्थीले प्रतिक्रिया व्यक्त गर्ने गरेको भन्दै उनीहरुले क्याम्पस प्रशासन समक्ष जिज्ञासा राखेका थिए ।

विभिन्न सहभागीहरुको जिज्ञासा सुनिसकेपछि क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले शैक्षिक गुणस्तर अभिवृद्धिको लागि यस्तो प्रकारको कार्यक्रम समयसमयमा राख्नुपर्ने विचार राखे । थापाले शिक्षामा राजनीति जोड्न नहुने बताउँदै यस्ता कार्यक्रमले चितवनको शिक्षा क्षेत्रमा र शिक्षा सुधारमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

क्याम्पस प्रमुख मणिराज महतोले सहभागीहरुले राखेको जिज्ञासको प्रतिउत्तर दिँदै अहिले क्याम्पसमा झण्डै १०० जना प्राध्यापक तथा कर्मचारी र ३५ सय भन्दा बढी विद्यार्थीहरु रहेको जानकारी दिए । उनले विभिन्न विद्यालयका प्रधानाध्यापक तथा कार्यक्रम संयोजकहरुले क्याम्पसलाई दिएको सुझावको आधारमा अगाडि बढ्ने विचार राखे । उनले भने, ‘ अहिले देशमा सबैतिर राजनीति नै छ । बेथिति छ । क्याम्पसमा पनि त्यसको प्रतिबिम्व हो । कतिपय हाम्रो तहबाट नियन्त्रण गर्न नसक्ने अवस्था छ । तर, पनि हामी सुधारकै प्रयासमा नै छौं । तपाइँहरुको सुझावलाई मनन गर्दै अघि बढ्ने छु ।’

वातावरण विज्ञान विषयका प्राध्यापक गिरीराज उपाध्यायले सञ्चालन गरेको उक्त अन्तरक्रिया कार्यक्रममा क्याम्पसमा सञ्चालित विभिन्न विषयहरुको बारेमा जानकारी गराइएको थियो । विसं २०४५ सालमा स्थापना भएको सप्तगण्डकी क्याम्पसमा विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी गरी चार संकायमा अध्ययन हुँदै आएको छ । त्यस्तै स्नातक तह र स्नाकोतर तहको व्यवस्थापनमा चार सेमेस्टरको एमबीएस, चार वर्षे बीबीएस, आठ सेमेस्टरको (बीबीए र बीआईएम), शिक्षा संकायमा चार सेमेस्टरको एमएड, चार वर्षे (बीएड र विएड विज्ञान) र आठ सेमेस्टरको बीआईसीटीई पढाइ हुँदै आएको छ । मानविकी तथा सामाजिक विज्ञान संकायमा चार सेमेस्टरको एमए (आर.डी), चार वर्षे बीएमा आमसञ्चार तथा पत्रकारिता, समाजशास्त्र, ग्रामीण विकास, अंग्रेजी साहित्य, सामाजिक कार्य(बीएसडब्लू) विषयको पढाइ हुँदै आएको छ । विज्ञान तथा प्रविधि संकायमा विज्ञानमा चार वर्षे बीएस्सी वातावरण विज्ञान र बीएस्सी सामान्य विज्ञानको पढाई हुँदै आएको छ । मानविकी संकायमा नै आठ सेमेस्टरको बीसीए पनि सञ्चालन भइरहेको छ । क्याम्पसले स्नातक तहका नयाँ शैक्षिक विषय रुपमा यसैवर्षबाट चार वर्षे बीएस्सी जेनेरल विज्ञान (जीवशास्त्र, रसायनविज्ञान, भौतिक शास्त्र) र बीएड विज्ञान पढाउन सुरु गर्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>