खेलकुद

सहिद स्मारक ए डिभिजनमा नेपाल पुसिलको दोस्रो जित

Banner

काठमाडौं, माघ २६–
नेपाल पुलिस क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । पुलिसले र च्यासल युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगमा महत्वपूर्ण जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसको जितमा दुवै गोल रवि शंकरले गर्दा च्यासलका मोउसा एवांगाले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा सुमन लामाको कर्नरमा सुमन सुवेदी हुँदै आएको हेडरमा अजित भण्डारीको हेडरलाई च्यासलका गोलरक्षक अर्पण कार्कीले सहजै नियन्त्रणमा लिए । २४औं मिनेटमा तेज तामाङको पेनालटी बक्सबाहिरको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा पुलिस अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा मोउसा एवांगाको बक्स बाहिरको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३७औं मिनेटमा रविले गोल गर्दै पुलिसलाई १–० को अग्रता दिलाए । निर कुमार राईको पासमा रविले गरेको क्रस दोस्रो बार च्याप्दै गोलमा परिणत हुँदा गोलरक्षक अर्पण कार्कीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । ५१औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकलाई पुलिसका गोलरक्षक शत्रुघन कुमार चौधरीले पञ्च गर्दै बचाए ।

५३औं मिनेटमा मौउसा एवांगाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । रुमेश बर्ताैलालाई पेनाल्टी बक्समा लडाएपछि रेफ्री सुमन श्रेष्ठले च्यासललाई पेनाल्टी दिएको थियो । जसमा मोउसा चुकेनन् । ६२औं मिनेटमा रुमेश बर्ताैलाको प्रहारलाई गोलरक्षक शत्रुघनले डाइभ दिदै बचाए ।

६९औं मिनेटमा रविले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ ले अघि बढाए । सुमन लामाको पासमा रविले कप्तान विराज महर्जनलाई विट गर्दै दोस्रो बार च्याप्दै गरेको प्रहारलाई अर्पणले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।८२औं मिनेटमा कमल श्रेष्ठको कर्नरमा अभिषेक लिम्बुको हेडर क्रसबारमा लागेर फर्कदा च्यासल बराबरीबाट चुक्यो । ८७औं मिनेटमा विकास मेराग्लियाको प्रहार फितलो बनेपनि सब्सिच्युट कर्ण लिम्वुले सुवर्ण अवसर गुमाउँदा च्यासल बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा यान्निक केट्चाको प्रहार हेमन्त श्रेष्ठलाई डिफ्लेक्ट हुदै पोलमा लागेर बाहिरिदा च्यासल बराबरीबाट चुक्यो । लगत्तै कर्नरमा अभिषेकको हेडर सदुपयोग हुन नसक्दा च्यासल पराजित हुन पुग्यो ।जितपछि पुलिस ९ खेलबाट १० अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । समान १० अंक नै रहेपनि एपिएफ बढी गोलको आधारमा नवौं स्थानमा रहेको छ ।

पुलिससँगको हारसँगै च्यासललाई रेलिगेसनको दवाव बढेको छ । ९ खेलबाट ५ अंक जोडेर च्यासल १३औं स्थानमा रहेको छ । अब च्यासलले लिगको बाँकी चार खेलमा जित हात पारेर मात्रै पुग्दैन अन्य टोलीको नतिजा पनि हेर्नुपर्ने हुन्छ ।पुलिसले २ जित, ४ बराबरी र ३ हारको नतिजा निकालेको छ । खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराव प्रदर्शन गर्दा ९ खेलमा १ जित, २ बराबरी र ६ हारको नतिजा निकालेको छ । साभार हाम्रो खेलकुद

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>