देश/प्रदेश

काठमाडौं महानगरले बीस तलासम्म आगो निभाउने दमकल ल्याउँदै

Banner

काठमाडौँ, माघ १७-

काठमाडौँ महानगरपालिकाले २० तलासम्म लागेको आगो निभाउने र साँघुरा सडकमा पनि जान सक्ने प्रकृतिका तीनवटा वारुण (दमकल) यन्त्र खरिद गरेको छ । नयाँ दमकल फागुनभित्र आइसक्ने जनाइएको छ ।

महानगरपालिकाले महानगर क्षेत्रमा आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर एउटै प्रकृतिका तीनवटा वारुणयन्त्र खरिद गरेको हो । वारुणयन्त्रभित्र पानी र फर्मको फरक–फरक भण्डारण गर्ने क्षमता छ ।

जर्मन प्रविधिमा आधारित इन्डोनेसियामा बनेको जिङ्गर कम्पनीको वारुणयन्त्रमा तीन हजार लिटर क्षमताको पानी र एक हजार पाँच सय लिटर क्षमताको फर्म भण्डारण गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । ढुवानीबाहेक दुई लाख अमेरिकी डलरमा खरिद गरिएको वारुणयन्त्रले कम्तीमा ६० मिटरमाथिसम्म लागेको आगो निभाउन सक्नेछ । “वारुणयन्त्रले कम्तीमा २० तल्लासम्म लागेको आगो निभाउन सक्छ”, प्रवक्ता डङ्गोलले भन्नुभयो ।

यसअघि काठमाडौँ उपत्यकामा रहेका वारुणयन्त्रले आठ तलासम्म लागेको आगो मात्रै निभाउन सक्ने क्षमता थियो । हाल काठमाडौँ महानगरपालिकाअन्तर्गत चारवटा वारुणयन्त्र रहेका छन् । नयाँ वारुणयन्त्र काठमाडौँ उपत्यकामा रहेका साँघुरा सडकमा समेत जान सक्ने मोडलका रहेको दाबी गरिएको छ ।राजधानी दैनिकमा खबर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>