चितवन विशेष

विद्युतीय फोहोर व्यवस्थापन चुनौति बन्दै, छैन कानुनी व्यवस्था

Banner

चितवन, पुस २९–

पछिल्लो समय नेपालमा विद्युतीय फोहोर बढ्दो क्रममा रहेको छ । विद्युतीय सामग्रीको माग बढ्दो अवस्थामा फोहोर समेत बढ्न थालेपछि यसको व्यवस्थापनमा चुनौति खडा भएको छ ।

अहिले सामान्य घरायसी फोहोर व्यवस्थापनमा मात्रै स्थानीय तह र सरकारको ध्यान केन्द्रीत रहेकाले विद्युतीय फोहोर व्यवस्थापनमा झनै चुनौति खडा भएको हो । बिहीबार भरतपुरमा आयोजित ‘बढ्दो विद्युतीय फोहोर र व्यवस्थापनका चुनौति’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै वातावरण विज्ञ मिनप्रसाद अर्यालले पछिल्लो समय नेपालमा विद्युतीय फोहोर बढ्दो क्रममा रहेकोमा यसको व्यवस्थापनमा कसैको ध्यान नपुगेको बताए । उनका अनुसार नेपालमा प्रति महिना ७ लाख वटासम्म मोबाइल फोन भित्रिने गरेको छ । बिग्रिएका मोबाइलको सही व्यवस्थान हुन सकेको छैन । विद्युतीय फोहोरको सही व्यवस्थापन गर्न नसकिए वातावरणमा प्रभाव पार्नुको साथै मानव स्वास्थ्यमा समेत ठूलो असर गर्ने भएकाले यसको व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् ।

भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले घरायसी फोहोर व्यवस्थापनमै चुनौति रहेकाले विद्युतीय फोहोर व्यवस्थापनमा ध्यान नपुगेको बताए । ‘हामीलाई घरायसी फोहोर व्यवस्थापन नै चुनौति छ, डम्पिङ साइट निर्माणको अन्तिम चरणमा छौं’ घिमिरेले भने ‘विद्युतीय फोहोर व्यवस्थापन कसरी गर्ने भन्नेमा हामी ठोस निर्णयमा पुगेका छैनौं ।’

कम्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का केन्द्रीय सदस्य भानु शर्माले विद्युतीय फोहोर व्यवस्थापनका लागि जनचेतना नै जगाउन आवश्यक रहेको बताए । अहिलेका जनप्रतिनिधिहरु बाटो, ढल निर्माणमा मात्रै केन्द्रीत बनेको भन्दै भोलिका दिनमा आइपर्ने विद्युतीय समस्याका बारेमा ध्यान दिन नसकेको बताए ।

विद्युतीय फोहोर (ई–वेस्ट) यती बेला विश्वकै लागि चुनौतिको विषय बनेको छ । त्यसको समाधानका लागि विश्वमा विभिन्न विकल्पहरु खोजी भइरहेका छन् । अन्तराष्ट्रिय दूरसञ्चार निकाय आईटीयूले पनि सन् २०२३ को अन्त्यसम्म विश्वका ६० प्रतिशतभन्दा बढी देशमा ई–वेस्टका लागि कानूनी व्यवस्था गर्ने योजना बनाएको छ ।

हाल विश्वका करिब २० प्रतिशत देशले ई–वेस्टका लागि कानूनी प्रावधान तयार पारिसकेका छन् । नेपालमा पछिल्लो दशक विस्तार भएको विद्युतीय सामग्रीको उपयोग अबको दशकमा फोहोरको रुपमा आउने हुँदा यसका व्यवस्थापनका लागि आवश्यक कदम चाल्नु पर्ने बेला आएको छ । यसको व्यवस्थापनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले पहलकदमी लिए पनि त्यसले सार्थक्ता पाउन सकेको छैन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा ए.एस सोलुसनले आयोजना गरेको अन्तरक्रियामा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी रहेकी थिइन् । उनले विद्युतीय फोहोर व्यवस्थापन अबको आवश्यकता रहेको भन्दै यसका व्यवस्थापनका लागि महानगरले कदम चाल्ने बताइन् ।

कार्यक्रममा आयोजकका तर्फबाट रञ्जन कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>