चितवन विशेष
एमाले माडी नगर कमिटिको सपथ ग्रहण
माडी,कार्तिक २६-
नेपाल कम्युनिष्ट पार्टी एमाले माडी नगर कमिटिको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नगरकमिटिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम आज शुक्रवार माडीमा सम्पन्न भएको छ । सपथ ग्रहण समारोहका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले पार्टीको नीति र सिद्धान्तप्रति इमान्दार भएर जनताको सेवामा लाग्न नगर कमिटिलाई निर्देशन दिनभयो ।
कार्यक्रममा नगर अधिवेशन सहजीकरण कार्यदलकी संयोजक एवम् नेकपा एमाले वाग्मती प्रदेश कमिटि सदस्य सरस्वती बिष्टले विधानअनुसार नगर अध्यक्ष नारायणप्रसाद अधिकारीलाई सपथ गराउनुभएको थियो भने नगर अध्यक्षले उपाध्यक्ष, सचिव, उपसचिवसहित सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।
अधिवेशन सहजीकरण कार्यदलकी संयोजक सरस्वती बिष्टको अध्यक्षतामा सम्पन्न सपथ ग्रहण कार्यक्रममा वाग्मती प्रदेशका सांसद कृष्ण भुर्तेल , नेकपा एमाले वाग्मती प्रदेश कमिटि सदस्य रामप्रसाद न्यौपाने,जिल्ला कमिटि सदस्य कमल रामदाम, क्षेत्रीय अध्यक्ष श्यामकुमार बिष्टले नवनिर्वाचित कमिटिलाई बधाई ज्ञापन गर्दै नेकपा एमालेलाई गतिशिल बनाएर जनताको घरदैलोमा पुर्याउन आग्रह गर्नुभएको थियो ।
सपथ ग्रहण पश्चात बसेको नयाँ नगर कमिटिको पहिलो वैठकले नगर अभिवेशन सम्पन्न गर्न सहयोग गर्ने नगर अधिवेशन सहजीकरण कार्यदललगायत सम्पूर्ण सहयोगीहरुप्रति धन्यवाद ज्ञापन गरेको छ । साथै नेकपा एमाले माडी नगर कमिटिका निवर्तमान अध्यक्ष रेशमलाल आचार्य र उहाँको नेतृत्वमा रहेको कमिटिप्रति हार्दिक आभार प्रकट गरेको छ ।
यसैगरी नेकपा एमालेको १० औं महाधिवेशन सम्पन्न गराउनको लागि केन्द्रिय कमिटिलाई आवश्यक सहयोग गर्ने र उद्घाटन समारोहमा उपस्थिति बढाउन जनपरिचालन गर्ने निर्णय गरेको छ । साथै २७ गते प्रतिनिधि छनौट कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ ।
वैठकले हालै माडीमा हात्तीले मानव बस्तीमा किसानहरुको खेती र भौतिक संरचना नष्ट गरेको कार्यप्रति दुःख व्यक्त गर्दै तत्काल हात्ती नियन्त्रण गरी उचित क्षतीपूर्ति उपलब्ध गराउन चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सरकारलाई आग्रह गरेको माडी नगर कमिटिका सचिव श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।