चितवन विशेष
भरतपुरको एम्स सिएका दुई विद्यार्थी नेपालबाट सिए पास हुनेको टप टेनमा पर्न सफल

चितवन, कार्तिक २२ –
भरतपुरमा रहेको एम्स सिएका दुई जना विद्यार्थी नेपालबाट सिए पास हुनेहरुको टप टेनमा पर्न सफल भएका छन् ।
सिए क्याप १ को परीक्षा दिएका एम्सका विद्यार्थीहरु अमृत चापागाईं चाथौं हुन सफल भएका छन् भने सागर ज्ञवाली आठौं हुन सफल भएका छन् ।
चापागाईं र ज्ञवालीलाई एम्सले एक कार्यक्रमको आयोजना गरी दुबै जनालाई नगद ४० हजारसहित सम्मान गरेको छ । एम्सका सञ्चालक विशाल भट्टराईका अनुसार एम्सबाट ३१ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमा १८ जना पास हुन सफल भएका छन् । देशभरबाट करिब २ हजार जनाले एम्स क्याप १ को परीक्षा दिएको उनले जानकारी दिए ।
तीन वटा तह रहेको चार्टर एकाउन्टेन्ट (सिए) मा पहिलो तह सिए क्याप १ को पढाइ करिब ६ महिनाको हुन्छ । त्यसपछि सिए क्याप २ को पढाइ ९ महिना र क्याप ३ को पढाइ ३ वर्षको हुन्छ ।

देशभर चौथौं हुन सफल भएका अमृत चापागाईंले टप टेनमा पर्दा आफूलाई निकै खुसी लागेको बताउँदै क्याप २ र क्याप ३ मा राम्रो गर्नुपर्ने बाध्यात्मक चुनौती खडा भएको महसुश गरेको बताए । ‘घरमा प्रत्येक दिन पढ्ने गरेमा परीक्षामा सफल भइने रहेछ’ उनले भने ।
आठौं हुन सफल भएका विद्यार्थी सागर ज्ञवालीले पनि टप टेनमा पर्दा हर्षित भएको बताए । उनले भने, ‘टप टेनमा पर्ने कुरा मैले कल्पना गरेको थिइन् । दिनदिनै पढ्थें । त्यही हो ।’

एम्स सिए चितवनमा सिए पढाउने एकमात्र इन्सिच्युट हो । एम्स चितवनमा तीन वर्षदेखि सञ्चालित छ । एम्स सिए चितवनमा खुलेपछि सिए पढ्न चाहनेहरुले जिल्लामै पढ्न पाउने अवसर पाएका छन् ।































