चितवन विशेष
चितवनमा बिआइसि ह्याकाथन प्रतियोगिता हुँदै

चितवन, कार्तिक ११ –
चितवनमा बिआइसि ह्याकाथन प्रतियोगिता हुने भएको छ ।
चितवनका भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजमा रहेको बास्टन सेन्टर फर इन्फरमेशन एन्ड टेक्नोलोजि क्लबले उक्त कार्यक्रम गर्न लागेको हो ।
क्लबले आज बिहीबार पत्रकार सम्मेलन गर्दै यसम्बन्धी जानकारी गराएको हो ।
क्लबकी बजार व्यवस्थापन साङपु शाक्यले प्रतियोगिता कार्यक्रम यही मङ्सिर २ देखि ४ गतेसम्म बोस्टन इन्टरनेशनल कलेजमा हुने जानकारी दिइन् ।
उनका अनुसार ४८ घण्टा निरन्तर चलिरहने कार्यक्रम ह्याकाथनमा विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यसमा आधारित रहेर त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङ मार्फत प्रस्तुत गर्नुपर्दछ । तीन दिनसम्म हुने कार्यक्रमको पहिलो र दोस्रो दिन प्रतिस्पर्धीहरुले आफ्नो योजनालाई कोडिङमा परिणत गर्नुपर्ने उनले बताइन् । तेस्रो अर्थात् अन्तिम दिन आफूले बनाएको योजनालाई निर्णायकका सामु प्रस्तुत गर्नु पर्ने उनले जनाइन् ।
उनका अनुसार ह्याकाथन शब्द ‘ह्याकर’ र ‘म्याराथन’ मिलेर बनेको शब्द हो । जहाँ ‘ह्याकर’ भनेको एक चलाख प्रोग्रामर र ‘म्याराथन’ भनेको एक सिमित अवधिभित्र रही सहनशीलतापूर्वक कोडिङ गर्नु हो ।
ह्याकाथन एक सामाजिक कोडिङ कार्यक्रम हो जसले इच्छुक व्यक्ति तथा कम्प्युटर प्रोग्रामरलाई एकसाथ ल्याएर नयाँ सफ्टवेयर विकास गर्ने तथा अवस्थित सफ्टवेयर सुधार गर्ने काम गर्दछ ।
कार्यक्रममा नेपालका जुनसुकै ठाउँमा रहेका कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले दुई वा चार जनाको एउटा समूह बनाएर सहभागी हुन सक्ने शाक्यले बताइन् ।
कार्यक्रममा सहभागी हुनका लागि अनलाइन तथा भौतिक उपस्थितिमा दर्ता गर्ने प्रक्रिया पनि सुरु भइसकेको बताउँदै उनले दर्ता शुल्क ३ हजार रुपैयाँ राखिएको जानकारी दिइन् ।
प्रतियोगितामा प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमशः २०, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार र रनिङ सिल्ड, प्रमाणपत्र प्राप्त प्रदान गरिने शाक्यको भनाइ छ । यस्तै उत्कृष्ट टोलीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने शाक्यले जनाइन् ।
प्रतियोगितामा १० टिमको सहभागिता रहने छ । १० टिमभन्दा बढीको दर्ता भएमा छनोट प्रक्रियामार्फत छानिने उनले जनाइन् ।



























