देश/प्रदेश
अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न एक व्यक्ति पक्रउ, दुई फरार

काठमाडौँ, कात्तिक ११-
प्रहरीले अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भइ हाल काठमाडौं गोकर्णेश्वर ८ बस्ने २७ वर्षीय मिन बहादुर पाइन रहेका छन् । त्यस्तै उनीसँगै रहेका अन्य दुईजना भने फरार भएका छन् ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका ८ जगडोलबाट पक्राउ गरेको हो ।
प्रहरीले पाइनको साथबाट ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका पाइनमाथि थप अनुसन्धान भइरहेको छ भने फरार दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



























